FLASH NEWS

लुम्बिनीका करोड बढिको नोट रद्दी बराबर


नेपाल आवाज १ माघ २०७९, आईतवार १८:१६ मा प्रकाशित ५७४३ पाठक संख्या

भैरहवा, १ माघ लुम्बिनीमा १ करोड बढि मुल्य बरारबरको विदेशी मुद्रा सटही नहुदा रद्दी झै थन्किएको छ ।लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा रखिएका विभिन्न दानपेटिकामा विदेशी मुद्राहरु संकलन हुने गरेको छ, संकलित ति मुद्राहरु मध्ये विनिमय नहुने वदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि पोको पारेर राखिएको हो । करोडौ मुल्य बराबरको ती मुद्राहरु प्रयोग नभएकोले मुल्य अनुसार नभई रद्दी सरह भएको छ ।लुम्बिनी विकास कोषले दान पेटिकामा रहेको चलनचलतीका मुद्राहरु सटही गरेपनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेका नोटहरु सटही नगर्ने भएकोले सटही नभएका ३९ देशका मुद्राहरु विकास कोषले संचित गरेर राखेको छ । विभिन्न देशका ती मुद्राहरु नेपाली १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैया बराबर रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिए ।


दानपेटिकाबाट संकलित रुपैया मध्ये सबै भन्दा बढि म्यानमारको ७३ लाख ४८ हजार १ सय ५८ नेपाली रुपैया रहेको छ । त्यस्तै ओमनको १७ लाख ७९ हजार, श्रीलंकाको ८ लाख १ हजार, पेरुको ६ लाख ५१ हजार, भियतनामको ४ लाख ९८ हजार, इन्डोनेसियाको २ लाख ७० हजार, कम्बोडियाको १ लाख ९० हजार नेपाली रुपैया बराबरको रहेको छ । यि बाहेक भुटान, मंगोलया, बंगालदेश, लाओस, पाकिस्तान, अजेन्टिना, अफगानिस्तान, मोरिसस, युगान्डा, इरानी, इराक, स्वस्डेन रसिया लगायतका मुद्राहरु पनि संकलन भएका छन । त्यस्तै अन्य विभिन्न देशका संकलित मुद्राहरु पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेको र साट्न समेत असहयोगका कारण सटही नहुँदा ती मुद्रा संचिती गरेर राखिएको विकास कोषले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । आर्थिक वर्ष २०७१–०७२ देखि पुष ७ गते २०७९ सम्ममा यि ३९ देशका मुद्राहरु संकलन भएपनि तत्काल सटही नहुने भएकोले छुट्याएर राखिएको छ ।संकलित मुद्रा मध्ये राष्ट्र बैंकले खरिद–बिक्री गर्ने मुलुकको सटही हुने मुद्रा रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने बैंकमा पठाइने गरिएको छ, सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष भट्टराइले भने । संकलित मुद्राहरु लामो समय सटही नहुँदा कतिपय कुहिने अबस्थामा पुगेका छन् ।

सटही नहुने मुद्राको विनिमय नेपाल राष्ट्र बैंक मार्फत मात्रै हुने सम्भावना रहेकोले कोषले बारम्बार पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले चासो नदिएको कारण वर्षैा देखि ती मुद्राहरु संचिती गरेर राख्ने गरिएको छ । अर्थमन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेका छौ । विकास कोषले मोनाष्ट्रीहरुसँग समन्वय र सहकार्य गरेर साट्न सकिने बैकल्पिक व्यवस्था निकालेपनि सरकार, मोनाष्ट्री र राष्ट्र बैंक साक्षी बसेरमात्रै यो सम्भव हुने देखिन्छ । लुम्बिनी विकास कोषले भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काममा खर्च गर्दै आएकोे छ ।

नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैक मार्फत विदेशी मुद्रा कलेक्शनको लागि पठाउने व्यवस्था छ । सैधान्तिक रुपमा कलेक्शन गरी साट्ने व्यवस्था छ, कोभिड अगाडि सटिएपनि पछिल्लो २–३ वर्ष देखि पत्राचार नभएको बताए । राष्ट्र बैकको बैंकिङ विभागमा लुम्बिनी विकास कोषले प्रक्रियागत रुपमा पहल गरे पनि साट्न मिल्ने नोटहरु साट्न सकिन्छ ।

सहायक निर्देशक रमेश न्यौपानेले हामीले साट्न मिल्ने मुद्राहरु यही साटेपनि चलनचल्ती बाहेकका मुद्राहरु नोटहरु काठमाण्डौ पठाएर कलेक्शनका लागि पठाउन सकिने बताए । यो देशको यो यो दरको नोटहरु यो नम्बरको छ भनि विस्तृत खुलाएर राष्ट्र बैंकलाई अनुरोध गरे हामीले पहल गरिदिने बताए । हामीले सटही गर्न नसकेपनि मुद्रा सटहीको लागि केन्द्रमा अनुरोध गर्ने बताए । विदेशी मुद्रा कलेक्शन गरेर नोटहरु सम्बन्धित ठाँउमा पठाउने हुन्छ सबै साटिन्छ भन्ने पनि हुदैन त्यसको मापदण्ड अनुसार नोटको हकमा सटिने व्यवस्था भएपनि सिक्काहरु भने सटही नहुने उनले भने ।