FLASH NEWS

नेपाल बर्बाद पार्न भित्र र बाहिरका शक्ति क्रियाशील छन् : केपी ओली


नेपाल आवाज २ फाल्गुन २०७९, मंगलवार १६:०८ मा प्रकाशित ११२९ पाठक संख्या

काठमाडौं । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् ।


काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् ।

पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे । देश बनाउने विषय सोझो रेखामा राजनीति नहिँड्ने भन्दै उनको भनाइ छ ।

‘देश बनाउने भनेको कुरो, सोझो रेखामा राजनीति जाँदैन । हामीले अनेकौँ उत्तरचढाप देखेका छौँ, फेरि पनि आउँछन् उत्तरचढाप आउँछ,’ अध्यक्ष ओलीले भने, ‘अहिले साथीहरु काफी प्रसन्न भएको देख्छु । हामीले पाँच दलीय गठबन्धन तोडेर अर्काे एउटा सरकार बनाएका छौँ, यो सफलताको कुरा  हो। कथंकदाचित यो अवस्था फेरियो भने, संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ । संसदमा हाम्रो बहुमत छैन । अनेक प्रकारका, भित्रका, बाहिरका शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशील छन् ।’