FLASH NEWS

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न गृह मन्त्रालयको निर्देशन


नेपाल आवाज २२ चैत्र २०७९, बुधबार १९:०५ मा प्रकाशित २१६७ पाठक संख्या

काठमाडौं- भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्नेछन् ।


नेपाल राष्ट्रिय व्यवसायी महासंघले मंगलबार गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर पुर्‍याउने गरी निजी सवारीको रुपमा दर्ता भएका सवारी साधनहरु उद्देश्य विपरीत आफूखुशी भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो ।

‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ मा एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनका निम्ति प्रयोग गर्ने नपाइने व्यवस्था भएपनि विभिन्न स्थानहरुमा निजी सवारी साधनहरुले सार्वजनिक सरह सवारी सञ्चालन गरेको महासंघको भनाइ थियो ।

‘यस्तो कार्यले द्वन्द्व र विवाद समेत हुने गरेकोले कानुन विपरीतका कार्यहरुको प्रभावकारी नियन्त्रणको व्यवस्थाका लागि सम्बन्धित निकायमा निर्देशन गरिदिनुहुन अनुरोध गरिन्छ’ ज्ञापनपत्रमा भनिएको थियो । यसकै आधारमा गृहले महासंघको पत्र संलग्न गरेर बुधबार आवश्यक कारबाहीका लागि भन्दै जिल्ला प्रशासन कार्यालयहरुमा परिपत्र गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत रातो नम्बर प्लेटमा दर्ता भएर भाडामा यात्रु बोक्ने सवारीसाधनलाई रोक्न परिपत्र गरिएको बताए ।

पछिल्ला दिनमा विभिन्न लामो रुटमा समेत साना निजी गाडीहरुले मोलमोलाइ गरेर यात्रु ओसार्न थालेपछि सार्वजनिक यातायात व्यवसायीहरु भड्किएका छन् ।