FLASH NEWS

नेपाली सेनाको साइबर स्पेश ह्याक गरेको आरोपमा पोखराबाट एक युवा पक्राउ


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार १८:२७ मा प्रकाशित २३४१ पाठक संख्या

काठमाडौं – नेपाली सेनाको  ‘साइबर स्पेस’ मा अनधिकृत पहुँच पुर्‍याएको आरोपमा एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० घर भई पोखरा-१६ बाटुलेचौरमा बस्दै आएका २१ वर्षीय सागर ढकाल छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले  शुक्रबार उनलाई पक्राउ गरेको हो । उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी हुन् ।


बाटुलेचौरमा डेरा बस्ने उनले घरधनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएको पाइएको नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

नेपाली सेनाको पत्रपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो । प्रहरीका अनुसार ढकालले सेनाको साइबर स्पेसमा अनाधिकृत पहुँच राख्ने हिसाबले बारम्बार अट्याक गरेका थिए ।

प्रहरीका अनुसार पक्राउ परेका ढकालले सेनाको के के विवरणमा पहुँच पुर्‍याए भन्ने खुलेको छैन उनले के प्रयोजनका लागि सेनाको सर्भर ह्याक गरे भन्ने पनि खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान बल्ल सुरु भएको एसएसपी अर्यालले बताए ।