FLASH NEWS

तालिमरत सैनिक अधिकृतले गरे प्रहरी प्रधान कार्यालयको अवलोकन


नेपाल आवाज २० बैशाख २०८०, बुधबार २०:१० मा प्रकाशित १६०३ पाठक संख्या

काठमाडौँ – नेपाली सैनिक वार कलेज नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि‍।सं.११ का तालिमरत अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण गरेका छन्।


तालिमरत ३३ जना महासेनानीसहित ३६ अधिकृतले सो क्रममा प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबसमेतको अवलोकन गरे। साथै उनीहरूले आजै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको समेत अवलोकन भ्रमण गरेका थिए।

अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गरे।

अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभिन्न जनचेतनामूलक कार्यक्रम लगायत नागरिकले गरेका अपेक्षा अनुसार काम गर्ने दुवै संगठनबीच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र नेपाली सेनाका सहायक रथी डा. रञ्जित थापाले कृतज्ञताको चिनो आदान प्रदान गरेका थिए।