FLASH NEWS

नक्कली भूटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझी पक्राउ, म्याद थपका लागि अदालत लगिँदै


नेपाल आवाज १ जेष्ठ २०८०, सोमबार १०:०९ मा प्रकाशित १२४३ पाठक संख्या

काठमाडौं- नक्कली भूटानी शरणार्थी प्रकरणमा परेर फरार रहेका नेकपा (एमाले)का सचिव तथा सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।


काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ रायमाझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् । “हाम्रो टोलीले उहाँलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिसकेको छ”, उनले भनेका छन् । रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंले यही वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएदेखि नै उनी फरार रहेका थिए ।

बुढानीलकण्ठस्थित अर्घाखाँचीकै एक कार्यकर्ताको घरमा उनी लुकेर बसेका थिए। प्रहरीले पक्राउ गर्दा टोपबहादुर रक्सी खाएर झुम्मिएको अवस्थामा फेला परेका थिए। स्वास्थ्य जाँचका क्रममा उनले मदिरा पिएको पुष्टि भएको छ। उनले स्वास्थ्य जाँचका क्रममा डाक्टरलाई एक गिलास बियर खाएको जवाफ दिए। विशेष ब्यूरोले पक्राउ गरेर रायमाझीलाई काठमाडौं परिसरमा बुझाएपछि परिसरबाट राति नै स्वास्थ्य जाँचका लागि कान्तिपुर अस्पताल तीनकुने लगिएको थियो।  परीक्षणपछि रायमाझीले आफूले एक गिलास मात्रै बियर खाएको जवाफ दिएका छन्। तर प्रहरीले भने उनी रक्सीमा झुम्म भएको अवस्थामा रहेको बतताएको छ। यसअघि फरार रहँदा उनले संसद्‌लाई पत्र पठाउँदै आफू बिरामी भएको बताएका थिए।

पक्राउ परेका रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ । सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने यही वैशाख २० गते नै पक्राउ गरेको थियो । यसअघि यही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डेलगायतका १२ जना पक्राउ परिसकेका छन् ।

पक्राउ परेका पूर्वगृहमन्त्री खाँणको आज (सोमबार) देखि बयान हुने भएको छ। यसअघि सरकारी वकिल र प्रहरीले उनका निजी सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयान आइतबार सकेको छ। योसँगै खाँणअघि पक्राउ परेका ११ जनाको बयान सकिएको छ। तर सरकारी वकिल कार्यालय र प्रहरीले आवश्यक परे थप बयान लिन सक्नेछन्।