FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : खाँणको बयान सकिएन, भोलि पनि लिने


नेपाल आवाज १ जेष्ठ २०८०, सोमबार १५:२४ मा प्रकाशित ११२३ पाठक संख्या

काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै भएको ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भोलि पनि बयान लिने भएको छ । आज लिएको बयान नसकिएपछि भोलि पुन बयान लिन लागेको हो ।


सरकारको वकिलको कार्यालयले यो मुद्दामा अनुसन्धान सकेर भोलिसम्ममा फाइल तयार गर्न पनि प्रहरीलाई भनेको छ ।

ठगी, संगठित अपराधलगायतका विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान नसकिएको भन्दै  समय मागेपछि जिल्ला अदालतले हिजो मात्रै उनलाई थप ४ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित, खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा प्रहरीले गृह मन्त्रालयका दुई अधिकारीसँग समेत बयान लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल र उपसचिव सागरमणि पाठकसँग बयान लिएको हो । दुबै जनालाई प्रहरीले जिल्ला प्रहरी परिसर टेकुमै बोलाएर आइतबार र सोमबार बयान लिएको हो । रामबहादुर थापा ‘बादल’ गृहमन्त्री भएका बेला ३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा बनेको कार्यदलले बनाएको प्रतिवेदन कीर्ते गरेको प्रकरणमा प्रहरीले उनीहरुसँग पनि बयान लिएको हो ।  तत्कालीन अवस्थामा पोखरेल शान्तिसुरक्षा महाशाखाको प्रमुख थिए भने पाठक स्थानीय प्रशासन शाखामा कार्यरत थिए । अहिले भने पोखरेल गृह मन्त्रालयमै सहसचिवको रुपमा कार्यरत छन् भने पाठक गुल्मीको प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

उनीहरुसँग नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सम्बन्धित शाखाबाट कसरी फाइल पास गरियो भन्नेबारेमा बयान लिइएको प्रहरी स्रोतले जनाएको छ ।  प्रहरीले उनीहरुसँग बयान लिइएको थप विषय खुलाएको छैन ।