FLASH NEWS

जन्मकैदको फैसला सदर भएका रेशम भन्छन्- न्यायालयप्रति भरोसा मरेको छैन


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १३:४३ मा प्रकाशित २२६९ पाठक संख्या

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले न्यायालयप्रति अझै भरोसा रहेको बताएका छन् ।


जिल्ला अदालतले तोकेको जन्मकैद सजाय मंगलबार सर्वोच्च अदालतले सदर गरेपछि डिल्लीबजार कारागारमा रहेका रेशमले आज एक विज्ञप्ति जारी गर्दै न्यायालयप्रति अझै भरोसा नमरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ । तर, त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । मलाई अझै न्यायलयप्रति भरोसा छ । हामी अझै न्यायीक पर्खाइमा छौ !’

उनले फैसला स्वीकार्दै पुनरावेदनको बाटाे खुला रहेको पनि बताएका छन् । साथै उनले आफु कारागारमा धैर्य, सहनसिलताका साथ कैद भुक्तान गरिरहेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘म डिल्लीबजार कारागारमा धैर्य, सहनसिलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु रतिभर मन बिचलित छैन, पुस्तक लेखी रहेको छु । केही दिनमा ‘धरातल’ नामक पुस्तकको साथ तपाई समक्ष साक्षात हुनेछु ।’

रेशम २०७४ साल फागुनदेखि काठमाडौंको डिल्लीबजारस्थित सदरखोरमा छन् । सरकारले उनलाई रिहा गर्नेगरी कानुन संशोधनका लागि विधेयक संसद्मा पेस गरेको छ । तर, त्यसैबेला मंगलबार सर्वोच्चले जिल्ला र उच्च अदालतको फैसला सदर गरिदिएकाे हो ।

सर्वोच्चको आदेश अनुसार उनी अझै १४ वर्ष थुनामा बस्नुपर्नेछ ।