FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यविरुद्धको कसुर मुद्दा चलाउन राप्रपाको माग


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १७:०० मा प्रकाशित १८९७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई राज्यविरुद्धको कसूरसहित ४ वटा कसुरमा मुद्दा चलाउन माग गरेको छ ।


जेठ १, २ र ३ गते बसेको केन्द्य्रीय कार्यसमितिको बैठकले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजान राज्यशक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएको बताएको छ ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कीर्ते लगायतका कसुरमा कारवाही चलाउन राप्रपा जोडदार माग गर्दछ’ बैठकपछि राप्रपा प्रवक्ता सगुन लावतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

राप्रपाले माओवादी लडाकु शिविरको घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल प्रकरण, वाइड बडी काण्ड लगायतका सम्पूर्ण भ्रष्टाचारका घटनामा तत्काल छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याउन पनि माग गरेको छ ।

बैठकले २०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

बैठकले किसानलाई तत्काल मल, बिउ सर्वसुलभ उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । यस्तै, विभिन्न वित्तीय संस्थाहरुले सर्वसाधारणबाट चर्को ब्याजदर असुलेका कारण पीडितहरूले सडक संघर्ष गर्नुपर्ने बाध्यतादेखि नागरिकहरुले आत्मदाह गर्ने पीडादायी क्षण देखेको/भोगेको भन्दै बैठकले पीडितहरुलाई न्यायका लागि तत्काल ऋणको ब्याजदर घटाउन सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा जेठ १ देखि काठमाडौँमा चलेको बैठक आज सम्पन्न भएको हो ।