FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका सबैलाई थप ३ दिन हिरातसमा राख्न अनुमति


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १९:२५ मा प्रकाशित २२२७ पाठक संख्या

काठमाडौं – नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।


बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका एमाले सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका सांसद तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १४ जनाविरुद्ध अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई थप ३ दिन समय दिएको हो ।

यसअघि जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । तर, अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले बुधबार थप तीन दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले जानकारी दिए ।

२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुरका सानु भण्डारीलाई पक्राउ गरेको थियो भने चैत १५ मा मोरङका सागर राई पक्राउ परेका थिए ।

शरणार्थी प्रकरणमा एमाले नेता रायमाझी, खाँणसहितका १४ जना जिल्ला प्रहरी परिसर काठमाडौं मातहतका विभिन्न हिरासतमा रहेका छन् । प्रहरीले उनीहरुविरुद्ध सङ्गठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । सङ्गठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सुरुमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् । पछि पक्राउ परेकाहरूको पनि सुरुमा पक्राउ परेका आरोपीसँग म्याद मिलान हुन्छ । अनुसन्धान सुरु भएको ५४ औँ दिनमा १४ जनालाई नै प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।