FLASH NEWS

दरबार हत्याकाण्ड, दासढुंगा र गौर हत्याकाण्डको नयाँ शिराबाट छानबिन गरिनुपर्छ: प्रचण्ड


नेपाल आवाज ४ जेष्ठ २०८०, बिहीबार १५:४६ मा प्रकाशित २५३३ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डसहित विगतका भयानक र विभत्स हत्याकाण्डकहरुको पुनः छानबिन हुनुपर्ने बताएका छन् ।


बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै उनले विगतका हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका हुन् ।

आम जनता पार्टीका सांसदले रौतहटको गौरमा २०६३ साल चैत ७ गते भएको हत्याकाण्डको छानबिन के भइरहेको छ र अपराधीहरु कानुनको दायरामा आउँछन् कि आउँदैनन् भनी प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले गौर मात्र नभई दरबार हत्याकाण्ड, मदन भण्डारी र जीवराज आश्रितको मृत्युको घटनाको पनि अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरुको नयाँ शिराबाट छानबिन हुनुपर्छ । चाहे त्यो गौरको केस होस् चाहे त्यो भयानक दरबार हत्या काण्ड नेपालको इतिहासकै सबैभन्दा विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ’ प्रचण्डले यस्ता घटना बिर्साउन खोजिएको भन्दै अगाडि भने, ‘मदन आश्रितको पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ ।’ यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्ने उनको भनाइ छ । विभत्स र भयानक हत्याकाण्डको अनुसन्धानका लागि सबैले विभर्श गर्नुपर्ने पनि उनले बताए । गौरहत्या काण्डको प्रसंगलाई पन्छाउन दाहालले यस्ता ठूला प्रकरणमा छानबिन गर्नका लागि राजनीतिक दलहरुबीच छानबिन हुनुपर्ने शर्त राखे।