FLASH NEWS

‘भ्रष्टाचार गर्न ठूला दलका नेताहरुबीच सर्वदलीय सहमति छ’: राप्रपा अध्यक्ष लिङ्देन


नेपाल आवाज ४ जेष्ठ २०८०, बिहीबार १६:५५ मा प्रकाशित १८०७ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारको काण्डमा सबै दलको ठूला नेताहरुको संलग्नता रहेको आरोप लगाएका छन् ।


नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध बिहीबार राप्रपाले काठमाडौंको वसन्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा ठूला दलहरुको सर्वदलीय सहमति जस्तो रहेको जिकिर गरे ।

उनले भने, ‘ठूला भ्रष्टाचारका काण्डहरुमा सबै दलका ठूला दलका नेताहरुको संलग्नता भएकै कारण जतिसुकै भ्रष्टाचार मुद्दा सार्वजनिक भए पनि आयोग गठन गर्ने, अनुसन्धान गर्ने नाममा फासफुस बनेर गएका छन् । त्यसैले अहिलेसम्म सबै भ्रष्टाचारका काण्डहरुमा ठूला दलको संलग्नता छ । सर्वदलीय सहमति जस्तो छ भनेर हामीले भन्दै आएका थियौं । अहिले यो प्रमाणित भएको छ ।’ उनले गाउँघरतिर नेता आउँदा चोर आए भन्छन् भनेर दिएको अभिव्यक्ति अहिले पुष्टि भएको जिकिर गरे ।

उनले शरणार्थी प्रकरण पनि विदेशी चासोका कारण अनुसन्धान भएको भन्दै यसलाई पनि अनुसन्धान नसकी फाइल बुझाउने तयारी भइरहेको बताए । उनले यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सवैलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग गरे ।

अध्यक्ष लिङ्देनले राप्रपाको नेतृत्वमा नै हिन्दु राष्ट्र र राजसंस्था पुनस्थापित गर्ने भन्दै त्यसका लागि कुनै विदेशीको आशिर्वाद र पैसा नलिने जिकिर गरे । उनले कांग्रेस एमाले र माओवादीबाट मुलुकको आर्थिक बिकास र सुशासनको कुनै सम्भावना नै नरहेको बताए ।