FLASH NEWS

आफ्नो आवागमनमा कुनै तामझाम नगर्न राष्ट्रपतिले दिए सुरक्षा निकायलाई निर्देशन


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार १३:१९ मा प्रकाशित १८४९ पाठक संख्या

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्दैछ ।


दिउँसो ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । उनी बिना तामझाम संसद भवन नयाँ बानेश्वर जाने भएका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन यसअघि राष्ट्रपतिको सवारीको बेला बाटो खाली गराएर अरु गाडी चल्न नदिने र सडक पेटीमा सर्वसाधारणको आवतजावत पनि रोक्ने गरिएको थियो ।

तर यसपटक भने राष्ट्रपति पौडेल शितल निवासबाट संसद भवन जाँदा सडकमा धेरैबेर अरु गाडी नरोकिने र कुनै तामझाम नहुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

आवागमनका क्रममा सडक अवरोध हुने र नागरिकले सास्ती पाउने गरी तयारी नगर्न सुरक्षा निकायलाई राष्ट्रपतिले निर्देशन दिएको उनको भनाइ छ ।

यसअघि गणतन्त्रमा पनि राजतन्त्रमा जसरी सडकमा सर्वसाधारणको आवतावत रोकेर राष्ट्राध्यक्षले सवारी गर्ने भन्दै आलोचना भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो आवागमनका बेला अरु गाडी पनि चल्न दिन आग्रह गरेका थिए ।

गत फागुन २५ मा निर्वाचित पौडेलले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् । तर, सामान्य रूपमा संसद् गएर फर्कने राष्ट्रपति पौडेलको तयारी रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले बताए । सेनाले पुरानो परम्परा नमास्न आग्रह गरिरहेकाले संसद भवनको गेटबाट रिसल्ला सहितको  कारकेडको व्यवस्था गर्ने तयारी छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा गोरखा पुगेका राष्ट्रपति पौडेलले ‘सवारी’ शब्द सामान्तवादको प्रतीकको रुपमा रहेको भन्दै भ्रमणमा ‘आवागमन’ शब्दको प्रयोग गर्न आग्रह गरेका थिए ।