FLASH NEWS

‘भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भयो’ : ओली


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार १४:०८ मा प्रकाशित ११८३ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन् ।


सरकारको नीति तथा कार्यक्रममाथि आइतबार संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले आफू परराष्ट्रमन्त्री भएकै बेला भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्बास कार्यक्रम सुरु भएको बताए । त्यसअनुसार १ लाख १३ हजार ३०७ जना तेस्रो मुलक गएपनि ६ हजार ७५५ बाँकी रहेको र उनीहरुमध्ये ४२९ को कार्ड समेत बनिसकेको बताए ।

आफू प्रधानमन्त्री भएको बेला बाँकी रहेका शरणार्थीलाई पनि तेस्रो देश पठाउन समिति बनेर त्यसले केही प्रस्ताव पठाएपनि होल्ड गरेको उनले बताए । आफू हटेपछि बनेको नयाँ सरकारले प्रस्तावलाई फिर्ता पठाएको, तर प्रतिवेदनको कभर उही राखेर सूची फेरिएको भन्दै ओलीले भने, ‘परिर्वतन गर्ने को हो ? खोजी गर्नुपर्दैन ?’

यो प्रकरणमा एमाले र आफ्नो नाम जोड्ने रहर गरेपनि त्यो सफल नहुने उनले बताए । ओलीले भने, म चुनौतीका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक पटक प्रधानमन्त्री भएँ, छानबिन गरियोस् ।’

उनले केही पनि दोषी छुट्न नहुने बताए । ‘तर अहिले निर्दोष फसाउने प्रयास भइरहेको छ, म खबरदारी गर्न चाहन्छु,’ एमाले अध्यक्ष ओलीले भने, ‘दोषी उम्काउने, निर्दोष फसाउने प्रयास नगर्दा हुन्छ ।’

‌ओलीले यही प्रकरणमा पक्राउ गरेका भीआईपीहरुलाई सरकारको दबाबमा प्रहरीले छाडिदिएको पनि दाबी गरेका छन्।

उनले आफूहरु सधैँ भ्रष्टाचारीलाई कारबाहीको पक्षमा रहेको पनि बताए। ‘हामी सधैँ भ्रष्टाचारीलाई कारबाही गरियोस् भन्ने पक्षमा छौँ। अहिले निर्दोष फसाउने र दोषी उम्काउने काम भइरहेको छ’, उनले भने, ‘यो कुरा भोलि अझै भयावहरुपमा निस्किन्छ। आगो छोप्न सकिन्छ तर धुवाँ छोप्न सकिँदैन।’

यो प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको पनि उनले दाबी गरे। ‘यो चानचुने कुरा होइन। दोषी नउम्कियोस् तर निर्दोष नफसोस्’, उनले भने, ‘तीन प्रमुख पार्टीका नेता भेट्दा सन्देह भयो भनिएछ। म निष्पक्ष र तटस्थ रुपमा यसको छानबिन हुनुपर्छ भन्ने पक्षमा छु।’

ओलीले जोसुकैले गरे पनि भ्रष्टाचार छानबिन हुनुपर्ने बताए। ‘सयौँ वर्षपछि पनि कारबाही हुनुपर्छ। व्यक्तिको मृत्यु भए पनि काण्ड त इतिहासमा रहन्छ’, उनले भने, ‘एकछिन भ्रष्टाचार ढाकछोप गरिएला, तर भ्रष्टाचारले गुडबाई भन्दैन सी यु लेटर भन्छ।’