FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले पनि छानविन गर्ने


नेपाल आवाज ९ जेष्ठ २०८०, मंगलवार ०६:१० मा प्रकाशित २०७७ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा छानवीन गरिरहेको नेपाल प्रहरीले तयार पारेको झण्डै ३ हजार पेजको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बुझाएको छ ।


नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने गिरोहबिरुद्ध प्रहरीले राज्य बिरुद्धको अपराध, संगठित अपराधका साथै ठगी मुद्दामा कारवाही हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । गत चैत १२ गतेबाट औपचारिक रुपमा नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा अनुसन्धान शुरु गरेको प्रहरीले आफ्नो तर्फबाट गर्नु पर्ने पहिलो चरणको अनुसन्धान पुरा गरी प्रतिवेदन बुझाएको हो ।

प्रहरीले यो प्रकरणको अनुसन्धानलाई भने खुल्ला राखेको छ । काठमाडौ प्रहरी परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार प्रहरीले पक्राउ परेका १६ जनाको बयानका आधारमा फरार रहेका अन्य व्यक्तिहरुमाथि थप अनुसन्धान गर्नेछ ।

प्रहरीले प्रतिवेदनमा उक्त अभियोगमा पक्राउ परेकाहरुलाई भ्रष्टाचारजन्य अपराधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अकुत सम्पतिको हकमा सम्पति शुद्धिकरण बिभागले छानवीन गर्नु पर्ने निष्कर्ष पनि निकालेको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनको बारेमा अध्ययन गर्न सरकारले सर्वोच्च अदालतका एक सह महान्यायाधीवक्ताको संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले दिएको राय सुझावलाई सरकारी वकिलको कार्यालयले मनन गरी कारवाही अघि बढाउने भएको छ ।

प्रहरीले पक्राउ परेका र फरार रहेका व्यक्तिहरुको बारेमा अभियोजन तयार गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको र सो प्रतिवेदन अध्ययन गरी सरकारी वकिलको कार्यालयले अभियोजनपत्र तयार गरेपछि उनीहरुबिरुद्ध मुद्दा चलाइने भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वको टोलीले उक्त मिसिल अध्ययन गरी अभियोजनपत्र तयार गर्ने जिल्ला अदालत काठमाडौका प्रवक्ता दीपक दाहालले जानकारी दिनुभयो ।

सो कार्यदलले अभियोजन तयार गरेपछि आज बुधबार उनीहरुबिरुद्ध अदालतमा मुद्दा दायर हुन सक्ने आंकलन गरिएको छ ।

प्रहरीले यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, डा. इन्द्रजित राई, भुटानी शरणार्थी आन्दोलनका नेता टेकनाथ रिजाल, पूर्व सभासद आङटावा शेर्पा, बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, समसेर मियाँ, सन्दिप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको छ ।

फरार १४ जनामध्ये प्रतीक थापा र निरज राई हाइप्रोफाइल हुन् । प्रतीक तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई पनि फरारको सूचीमा परेको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि दुबैजना फरार भएका हुन् ।

प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य फरार अभियुक्तहरूमा प्रतिक थापा, केशव तुलाधार, अशोक पोखरेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुढाथोकी, गोकुल थापा, रमा थापा र निरज राई रहेको बताएको छ । फरार रहेकामध्ये पोखरेल अमेरिकामा बस्दै आएको प्रहरीले दावी गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ८ सय ७५ जना नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर लैजान लागेको देखिए पनि पीडित भनिएका मध्येबाट प्रहरीमा २६ वटा मात्रै उजुरी परेको छ । उक्त उजुरीमा १ सय २२ जना पीडित रहेको उल्लेख गरिएको भएता पनि अहिलेसम्म पीडित भनिएका व्यक्तिहरु प्रहरीको सम्पर्कमा आएका छैनन् ।

प्रहरीले जाहेरीको आधारमा २७ करोड ८४ लाख ५७ हजार रुपियाँ विगो रकम रहेको उल्लेख गरेको छ ।

प्रहरीले यो प्रकरणको अनुसन्धान तत्काल टुंग्गो नलगाई खुला राखेको छ । प्रहरीले तत्काल पक्राउ परेकाको हकमा मागदाबी लिने र फरार तथा पछि खुल्नेहरूको हकमा पूरक अभियोगपत्र लैजाने तयारी गरेको छ ।