FLASH NEWS

कीर्तिमानी आरोही हरि बुढामगरलाई प्रधानमन्त्रीले दिए बधाई


नेपाल आवाज ९ जेष्ठ २०८०, मंगलवार १८:२५ मा प्रकाशित १०२७ पाठक संख्या

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन् ।


मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटेर प्रधानमन्त्री ‘प्रचण्ड’ले कीर्तिमानी सगरमाथा आरोही बुढालाई बधाई दिएका हुन् ।

यसअघि आजै लुक्लाबाट काठमाडौं आइपुगेका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले त्रिभुवन विमानस्थलमा झाँकीसहित स्वागत गरेका थिए ।

यसका साथै राष्ट्रपति रामचन्द्र पौडेलले पनि बुढामगरलाई हार्दिक बधाई दिएका छन् । राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले आज यहाँ आयोजित कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे । ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरेका छन् ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेका थिए । यो सँगै उनले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बनेका छन् । उनले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

यसैबिच, बुढामगरले अपाङ्गता भएकाहरुलाई हिमाल चढ्दा व्यहोर्नुपर्ने प्रक्रियागत झमेलालाई कम गर्ने काममा लाग्ने बताएका छन् । सगरमाथाको आरोहणपछि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सगरमाथा चढ्दाको अनुभव शेयर गर्दै हिमाल चढ्दा अपाङ्गता भएका मानिसहरुले गर्नुपर्ने प्रक्रियालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर आगामी दिनमा काम गर्ने लक्ष्य रहेको बताए ।

बुढामगरले सबैको प्रेरणाले सगरमाथा चढेर राम्रो काम गरेको जस्तो लागेको बताए ।   नेपालीहरू मुख्य गरी सगरमाथा, बुद्धको देश र गोर्खालीहरुको देश भएको र आफू तीनवटै कुरामा सम्बन्ध रहेको उनले बताए ।

रोल्पा थबाङको मिरुल घर भएका बुढामगरले बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका थिए । विद्युतीय धरापमा परेर उनको घुँडाभन्दा मुनिको भाग गुमेको थियो।