FLASH NEWS

गृहमन्त्री श्रेष्ठ र आईजीपी कुँवर बीच भेटवार्ता


नेपाल आवाज १० जेष्ठ २०८०, बुधबार १९:२९ मा प्रकाशित ३०१९ पाठक संख्या

काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरसँग भेटेका छन् ।


गृहमन्त्री श्रेष्ठले आज आईजीपी कुँवरसँग भेट गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीको नामसमेत मुछिएपछि गृहमन्त्री श्रेष्ठले उनीसँग भेट गरेका हुन् ।

भेटमा आईजीपीसँग उनको नामसमेत जोडिएकामा जिज्ञासा राखेका थिए । उनले आईजीपीको नामसमेत मुछिनु गलत भएको भन्दै कुँवरलाई चेतावनीसमेत दिएका बुझिएको छ ।

आईजीपी कुँवरले भने बाहिर आएका हल्लामा कुनै सत्यता नरहेको भन्दै आफ्नो बचाउ गरेका थिए ।

गृहमन्त्री श्रेष्ठले प्रहरी मुछिएको विषयमा गहिरो चासो राखेका थिए । अनुसन्धान प्रतिवेदनभित्रका सक्कल कागजातहरु अभियोगपत्र दायर नहुँदै सार्वजनिक भएको विषयमा उनले आईजीपीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

यसैबीच, प्रहरीले यस प्रकरणमा आईजीपी कुँवरलाई विवादमा तान्नु निन्दनीय भएको बताएको छ ।

बुधबार एक विज्ञप्ति जारी प्रहरी प्रधान कार्यालयले कुनै व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकलाई जोड्नु गलत भएको बताएको हो ।

प्रहरी प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमा भनेका छन्, ‘कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय छ ।’

मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी प्रमुखकै भूमिका शंकास्पद रहेको अनलाइन खबर डटकमले समाचार प्रकाशन गरेको थियो । उक्त समाचारप्रति प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘…समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरुप्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ ।’

नेपाल प्रहरी संविधान, कानुन र संगठनको मूल्य मान्यतामा अडिग रहेको भन्दै प्रहरी प्रधान कार्यालयले दोषी नछुटुन् र निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिवद्ध रहेको पनि बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अपराधी जोसुकै होस्, उसलाई बचाउन होइन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुबैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार तथ्य प्रमाणविना महानिरीक्षकलाई विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ ।’