FLASH NEWS

नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतह


नेपाल आवाज ११ जेष्ठ २०८०, बिहीबार ०७:१९ मा प्रकाशित १३१५ पाठक संख्या

काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ। एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो।


खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो। एकै ब्याचका तर अहिले आइजिपी भएका कुँवर र एआइजिपी श्याम ज्ञवालीबीचको टक्कर सतहमा आएको हो।

एआइजी ज्ञवाली मातहतमा अनुसन्धान भइरहेको भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका आइजिपी कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा ज्ञवाली रहेको भन्दै कुँवरले असन्तुष्टि व्यक्त गरेका छन्।

२०७९ असार ८ गते डिआइजीमा बढुवाबाट सुरु भएको कुँवर र ज्ञवालीबीच शक्तिकेन्द्रनजिकमा को पुग्ने र को महानिरीक्षक बन्ने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको र एसएमएस संवाद सार्वजनिक भएको हो। त्यतिबेला पछाडिबाट १२औं नम्बरमा रहेका कुँवर एक नम्बरमा बढुवा भएपछि ज्ञवाली भने ५ नम्बरमा डिआइजी भएका थिए। आफ्नो पहिलो नम्बरको वरीयता कायम राख्दै कुँवर आइजिपी भएका थिए।

त्यसअघि मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए। उनी त्यहाँ २०७९ असार १७ गतेसम्म कार्यरत रहे। त्यस क्रममा नक्कली भुटानी शरणार्थी पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते केशव दुलाल र टंक गुरूङ पक्राउ परेका थिए। तर उनीहरूलाई सामान्य सोधपुछ गरेर रेकर्ड नै नराखी सचिव पाण्डेको दबाबमा छाडिएको थियो। सो रेकर्डमै नराखी छाडिएको घटना अहिले बाहिर ल्याइएपछि यसको दोष ज्ञवालीमाथि गएको छ। आइजिपीका प्रतिस्पर्धी भएका कारण ज्ञवालीले कुँवरबारे यस्ता विषयहरू बाहिर ल्याएको हुन सक्ने आशंका आइजिपी स्वयंले गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

प्रकरणका अभियुक्त केशव दुलालले २०७९ असार १० मा पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर नमस्ते, डिआइजी वसन्त कुँवरसँग कुरा भयो हजुर?’ त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानू न’ भन्ने जवाफ फर्काएका छन्। यस्ता म्यासेजहरू सार्वजनिक भएपछि आइजिपीले आफूविरुद्ध षड्यन्त्र गरेको आफूनिकटका प्रहरी अधिकारीहरूलाई बताएका छन्।

त्यति मात्र होइन, आइजिपी कुँवरले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर यो विषयमा आन्तरिक छानबिन गर्न पाउनुपर्ने मागसमेत गरेका छन्। एआइजी ज्ञवालीसहितको भेटमा प्रहरीले अनुसन्धान गरिहेको विषय कसरी बाहिर आएको भनेर छानबिन गर्नुपर्ने नत्र गोपनीयता भन्ने विषय नै नहुने बताउँदै छानबिन गर्नुपर्ने बताएका थिए। गोप्य सूचनाहरू बाहिरिएको विषयमा गृहमन्त्री श्रेष्ठले पनि असन्तुष्टि व्यक्त गरेको र आन्तरिक छानबिन गर्न अनुमति दिएको मन्त्रालय स्रोतको दाबी छ।

(टपेन्द्र कार्कीले लेखेको यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौं ।)