FLASH NEWS

‘नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन’: झलनाथ खनाल


नेपाल आवाज १३ जेष्ठ २०८०, शनिबार १६:२० मा प्रकाशित १८३७ पाठक संख्या

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन्।


शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए।

उनले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गरे। उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए। पूर्वप्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए।

उनले भने, ‘नक्कली भुटानी शरणार्थीको केस जुन छ अहिले, यो एउटा लज्जास्पद कुरा हो, देशको अस्मिता गएको छ। संलग्न देखिएका मानिसलाई धिक्कार छ। यो अनुसन्धानलाई अन्तिमसम्म लगियोस्, यसमा कुनै बाधा खडा गरियो भने र अुनसन्धान प्रक्रियालाई पूर्ण रुपले टुंगोमा लैजानबाट बञ्चित गरियो भने नेपाली जनताले सहन गर्नेवाला छैनन्। आन्दोलनको सम्भावना छ। यो आजको सरकार र प्रहरीले सुनोस्।’