FLASH NEWS

प्रधानमन्त्रीको भारत भ्रमण : मोदीका सुरक्षा सल्लाहकार र विदेश सचिव क्वात्राबीच भेट


नेपाल आवाज १८ जेष्ठ २०८०, बिहीबार ००:१७ मा प्रकाशित १०६९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्राबीच भेट भएको छ।


बुधबार दिउँसो १ बजे राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत पुगेका प्रचण्डलाई नयाँ दिल्ली सरदार पटेल मार्गमा रहेको होटल मौर्यामा उनीहरूले भेट गरेका हुन्।

दिउँसो २ः २५ बजे नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डको उच्चस्तरीय भेटवार्ता भने बिहीबारदेखि मात्रै सुरु हुनेछ । बिहीबार प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डलाई हैदरावाद हाउसमा विशेष समारोहका बीच भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गर्ने कार्यक्रम रहेको छ ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्। द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुबै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ। त्यस्तै, प्रतिष्ठित व्यापारी / लगानीकर्ताहरुसँग अन्तरक्रिया र केही महत्त्वपूर्ण परियोजना अनुगमन गर्ने पनि बताए ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यस भ्रमणलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री प्रचण्ड आफैँले पनि यस भ्रमण ऐतिहासिक हुने बताउँदै आएका छन् ।

भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । सबै मित्र राष्ट्रहरूसँग पारस्परिक समानताका आधारमा असल र मैत्रीपूर्ण सम्बन्ध कायम हुनेमा उनको जोड छ ।