FLASH NEWS

प्रधानमन्त्रीद्धारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण


नेपाल आवाज १८ जेष्ठ २०८०, बिहीबार ११:३५ मा प्रकाशित १०१५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाधिस्थल पुष्पगुच्छा अर्पण गरेका छन् । उनले आज बिहान राजघाटस्थित गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गरेका हुन् ।


उनले आजै भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्न  हैदराबाद हाउस पुग्नुहुने छ । हैदराबाद हाउसको नीलगिरि कक्षमा मोदीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुनेछ । दुई नेताबीच एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्रीसहित द्विपक्षीय भेटवार्ता हुनेछ ।

त्यसपछि  केही परियोजनाको संयुक्त उद्घाटन र लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । त्यसपछि प्रचण्डको सम्मानमा भारतीय समकक्षी मोदीका तर्फबाट हैदराबाद हाउसमा दिइएको दिवाभोजमा नेपाली डेलिगेसनको सहभागिता रहनेछ  ।

भ्रमणको क्रममा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि छलफल हुने जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति जगदीप धनखडसँग ४ बजे र राष्ट्रपति द्रौपदी मुर्मूसँग साढे ४ बजे शिष्टाचार भेट गर्ने कार्यसूची छ । बेलुका साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीको संयुक्त कार्यक्रममा दाहाल केहीबेर उपस्थित हुनुहुने छ । त्यहीदिन औपचारिक कार्यक्रमबाहेक प्रधानमन्त्री प्रचण्डले आफू बसेको होटलमै विभिन्न व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ ।

चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार जम्बो टोलीसहित भारतको नयाँ दिल्ली पुगेका हुन् ।