FLASH NEWS

‘नेपाल भारतको सीमा समस्या समाधान हुन्छ’ : भारतीय प्रधानमन्त्री मोदी


नेपाल आवाज १८ जेष्ठ २०८०, बिहीबार १४:०१ मा प्रकाशित १६२१ पाठक संख्या

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने बताएका छन् ।


बुधवारबाट भारत भ्रमणमा आएका प्रधानमन्त्री प्रचण्डसँग आज हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

प्रचण्डको भ्रमणका क्रममा नेपाल भारतबीच भएको सम्झौताका बारेमा बाल्दै उनले नेपाल र भारतको सीमा समस्या समाधान हुने बताए  ।

‘हामी आफ्नो सम्बन्धको हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौं । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौं’, उनले भने ।

मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको र अझ धेरै बलियो बनाउने बताए । ‘यो सुन्दर क्षणको अझ बढी महत्त्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौं कि रामायण सर्किससँग सम्बन्धित परियोजनामा तीब्रता ल्याउनु पर्छ,’ मोदीले भने ।

संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री प्रचण्डले पनि सीमा समस्या समाधानको विषयमा बोलेका थिए । उनले भने, ‘प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल गर्यौं । मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।’

संयुक्त पत्रकार सम्मेलनमा दुई देशको ट्रान्जिट सम्झौतालगायतका कनेक्टिभिटीका केही सम्झौता भएका छन् ।

हैदरावादमा भएको द्विपक्षीय भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटनसमेत गरिएको छ ।

शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यसप्रकार छन्

-सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास

-नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन

-बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन

-अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास

-गोरखपुर-न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास

– सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी

-तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट

-फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट

-क्रस बोर्डर पेमेन्ट समझदारी