FLASH NEWS

पूर्वराजालाई अभिनन्दनलगायतका कार्यक्रम रोक्न झलनाथ खनालले दिए चेतावनी


नेपाल आवाज १८ जेष्ठ २०८०, बिहीबार १८:३४ मा प्रकाशित १९०९ पाठक संख्या

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल पूर्वराजा र राजसंस्थाविरुद्ध खनिएका छन् ।


बिहीबार काठमाडौंमा युवा संघ नेपाल, प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वराजालाई अभिनन्दनलगायतका कार्यक्रमहरु रोक्न चेतावनी दिए ।

मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा सन्तोष राजावादीको समूहले खनालविरुद्ध नाराबाजी र हुलहुज्जत गरेका थिए । त्यसकै प्रतिवादमा आज खनालले पत्रकार सम्मेलन आयोजना गरेका हुन् । आजको पत्रकार सम्मेलनमा खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तारो बनाए ।

खनालले लोकतन्त्रका विरुद्ध लड्ने योद्धाका विरुद्ध पूर्वराजा ज्ञानेन्द्र लागेको आरोप लगाए ।खनालले पञ्चायतकालमा लोकतन्त्रका लागि लड्नेहरुमाथि आक्रमण गर्ने मण्डलेहरु ब्युँताउन कोसिस भएको र त्यसमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता देखिएको आरोप लगाएका हुन् ।

गणतन्त्र र गणतन्त्रका लागि लड्ने नेताहरुलाई बदनाम गर्ने अभियान सुरु भएको खनालको दाबी थियो । उनले देशमा नयाँ मण्डलेहरु जन्माउन खोजिएको बताए । यदि राजनीति दलहरुविरुद्ध गुण्डागर्दी नरोकेमा पूर्वराजालाई देशभर कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी खनालले दिए ।

पूर्वराजा ज्ञानेन्द्रको राजनीतिक गतिविधि बढ्न थालेको भन्दै खनालले राप्रपाको अध्यक्ष वनेर वा अर्को पार्टी खोलेर राजनीतिमा आउन चूनौति दिए । उनले राजनीतिक दल खोलेर आए प्रतिष्पर्धा गर्न तयार रहेको तर गुण्डागर्दी र अराजकता मच्चाएर नारायणहिटी दरबारमा गएर मुकुट लगाउने सपना देखे दिवास्वप्नबाहेक केही नहुने स्पष्ट पारे ।