FLASH NEWS

भारतीय दुताबास अगाडि राप्रपाका युवा–विद्यार्थीहरुको विरोध प्रर्दशन


नेपाल आवाज १९ जेष्ठ २०८०, शुक्रबार १४:३९ मा प्रकाशित १८७९ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।


भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रर्दशन गरेको हो।

भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर उल्लेख गररेर भारतले नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमानमाथिको प्रहार गरेको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको संगठन संयोजक सुजित केसीले बताए ।

उनीहरुले प्रदर्शनको क्रममा भारतले जारी गरेको ‘अखण्ड भारत’ नक्सासमेत जलाएका थिए । विरोध प्रर्दशनमा उत्रिएकाहरुले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए ।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

विरोध प्रर्दशनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’, ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरिएको थियो ।

यसअघि संगठनले विज्ञप्तिमार्फत् सो नक्सा सच्याउन माग गरेको थियो भने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएको थियो । तर, भारतले सो नक्सा नसच्याएपछि आन्दोलनमा उत्रिनुपरेको संयोजक केसीले बताए ।