आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता


नेपाल आवाज २० जेष्ठ २०८०, शनिबार २१:३१ मा प्रकाशित १४०५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भारतको चार दिने भ्रमण सकेर शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति लगायत उच्च अधिकारीहरूसँग भेट गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण परिणामुखी भएको बताएका छन् । स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले यस पटकको भारत भ्रमण विगतको भन्दा भिन्न र परिणामुखी भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले सोचेजस्तै भारत भ्रमण भएको समेत बताए । उनले नेपालमा निर्माणाधीन जलविद्युत् तथा सडकजस्ता ठूला विकास परियोजनाका लागि अतिआवश्यक पर्ने विस्फोटक पदार्थको सरल र सहज आपूर्तिका लागि भारतीय समकक्षी नरेन्द्र मोदीसँग सकारात्मक कुराकानी भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘जलविद्युत् तथा सडक जस्ता ठूलो परियोजनाका लागि आवश्यक विस्फोटक पदार्थको सरल र सहज आपूर्तिको विषयमा मैले भारतीय प्रधानमन्त्री मोदीजीसँग सकारात्मक कुरा गरेको छु ।’ उनले विभिन्न मुख्य सात वटा सम्झौतामा हस्ताक्षर भएको बताउँदै भने, ‘सीमा विवाद समस्या समाधान गर्ने जस्ता विषयमा पनि छलफल भएको छ ।’

भारत भ्रमणअघि आफूले जे सोचेको त्यो मूलभूत रुपमा पूरा भएको प्रचण्डले बताए । ‘यो भ्रमण जे भनेर गएको थिएँ, मूलभूत रुपमा सोचेको कुरा पूरा भएको छ, केही महत्वपूर्ण दूरगामी सहमति समझदारी भएका छन्’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले दुई देशको राजनीतिक नेतृत्व तहमा विश्वासको वातावरण बनेको पनि बताए । ‘ पहिले विश्वासको संकटजस्तो देखिन्थ्यो । नेतृत्व लेभलमा विश्वासको वातावरण बन्यो’ प्रधानमन्त्री प्रचण्डले भने ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध सुपरहिट बनाउँछौ भनेबाटै पनि त्यसको संकेत देखिएको बताए । उनले भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने समेत बताए ।