आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

ज्ञानेन्द्र शाहीको प्रश्न- करको दर हेरफेरमा पूर्व नासु श्रेष्ठको संलग्नताको वास्तविकता के हो ?


नेपाल आवाज २३ जेष्ठ २०८०, मंगलवार १५:०८ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले करको दर हेरफेरमा पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठको संलग्नताको वास्तविकता के हो भन्दै प्रश्न गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणमा पूर्व कर्मचारीको प्रवेश कसरी भयो भन्दै प्रश्न गरेका हुन् ।

‘भन्सार विभागका उपसचिव स्तरका कर्मचारीसमेत प्रवेश नपाउने बजेट निर्माणको संवेदनशील क्षेत्रमा पूर्व कर्मचारी श्रेष्ठ कसको स्वार्थमा, कसको प्रतिनिधि बनाएर आर्थिक विधेयक बनाउने कक्षमा प्रवेश गराइएको हो ?’ उनले सोधे ।

बजेटको मुखमा भन्सार विभाग नेतृत्वहीन बनाएर किन जुनियर अधिकृतलाई जिम्मेवारी दिइएको भन्दै उनले विरोध गरेका थिए । उनले भने, ‘शाहीले पूर्व कर्मचारी श्रेष्ठलाई किन नियुक्त गरियो ?’

आर्थिक वर्ष २०८०–८१ को बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न पूर्व नासु श्रेष्ठ संलग्न भएको भन्दै उनले विरोध गरेका हुन् ।

राप्रपाका प्रमुख सचेतक शाहीले गत वर्ष पनि बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषय उठेपछि यसवर्ष त्यस्तो विषय नआउने सोचेको तर यस वर्ष पनि सेटिङमा काम भएको आरोप लगाए ।

‘विद्युतीय गाडीको करको दर बजेटअघि चुहाएर करिब ११ सय गाडी नेपाल भित्र्याइएको छ । त्यसबाट मुलुकलाई ९० करोड रुपैयाँ राजस्व घाटा भएको छ । यसको वास्तविकता के हो ?’ शाहीको प्रश्न थियो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताएका छन् । यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गरेका छन् ।

संसदमा प्रश्न उठेपछि मंगलबार संसदमा स्पष्टीकरण दिँदै अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको उनले बताए ।

आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको मन्त्री महतले बताए । अर्थमन्त्री महतले अगाडि भने, ‘निर्णय प्रक्रियामा उहाँ हुने कुरै भएन । निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र हो ।’

अर्थमन्त्री महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गरेका छन् । कर बढ्न सक्छ भन्ने अनुमानमा कसैले गाडी ल्याउँछ भने आफूले जिम्मा लिन नसक्ने उनले बताए । महतले आफूले विद्युतीय गाडीको करलाई विवेकपूर्ण मात्र बनाएको दाबी गरे । हरेक वर्ष बजेट आउने बेला कर बढ्ने सम्भावना हुनसक्छ भन्ने अनुमानमा व्यापारिक घरानाहरुले गाडी ल्याएको हुनसक्ने भन्दै अर्थमन्त्री महतले त्यसलाई सूचना चुहायो नभन्न आग्रह गरे ।

महतले करको दर हेरफेरबारे विचौलियालाई छेउामा पनि आउन नदिएको बताएका छन् । ‘विचौलियालाई छेउमा पनि आउन दिएको छैन,’ उनले भने, ‘विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक पकट दोहोर्याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।’

उनले भने, ‘इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।’ इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको उनको भनाई छ ।