FLASH NEWS

भारत भ्रमणको उपलब्धि स्वीकार्न नसक्नेहरूले जनतामा भ्रम फैलाए : प्रधानमन्त्री ‘प्रचण्ड’


नेपाल आवाज २७ जेष्ठ २०८०, शनिबार १७:४७ मा प्रकाशित ११७१ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाहरूले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप लगाएका छन् ।


नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ लाकुरीभन्ज्याङमा शनिबार गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले भारत भ्रमणबाट राष्ट्रमा विकासको ढोका खोल्ने आधार बनेको र त्यसले सिंगो राष्ट्र गौरवान्वित भइरहेका बेला केही व्यक्तिलाई राम्रो नरुच्ने रोग लागेको टिप्पणी गरे ।

भारत भ्रमणलगत्तै संसद्‌मा प्रतितिनिधिसभाका प्रमुख विपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री दाहालको आलोचनादेखि संसद् अवरोधसम्म गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्डले आमजनताको खुसी र देशको सफलतालाई केही मान्छेहरुले पचाउन नसकेर जनतालाई भ्रम दिएको र राजनीतिको रोटी सेक्न खोजेको टिप्पणी गरे ।

‘मेरो भारत भ्रमणले सिंगो राष्ट्र गौरवान्वित छ । तमाम उद्योगी/व्यवसायी खुसी छन् । राष्ट्रको विकासको ढोका खोल्नुपर्छ भन्ने आधार तय भएकोले आमजनता खुसी छन् । यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन । उनीहरुले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने ? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरुलाई लागेको थियो । त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला,’ उनले थपे, ‘प्रतिनिधिसभा र राष्ट्रियसभामा कस्तो चित्र देखियो भने तपाईंहरुले पनि टेलिभिजनमा देख्नुभयो होला । मलाई चाहिँ इतिहासमा पहिलोपटक राष्ट्रको आर्थिक हितमा । राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुसी लागेको छ ।’

प्रधानमन्त्री प्रचण्डले इन्दौरको फोहोर व्यवस्थापनको सन्दर्भ जोड्दै नुवाकोट र काठमाडौं उपत्यकाको फोहोर व्यस्थापनको समस्यालाई दीर्घकालीन समाधान गर्ने विषयमा आफूले तयारी गरेको बताए ।

‘भारत भ्रमणको क्रममा मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गर्‍यौं । इन्डियामा फोहोर सबैभन्दा राम्रो प्रयोग भएको ठाउँ हेरेको छु । अब नुवाकोट र काठमाडौं भ्यालीको फोहोर व्यस्थापनको समस्यालाई पनि दीर्घकालीन ससमाधान गर्ने सोचसहित आएको छु,’ उनले भने ।

यस क्रममा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि आफूले कठोर ढंगले दृढ कदम चाल्ने संकल्पका साथ आफ्नो सरकार अगाडि बढेको बताएका थिए । प्रधानमन्त्री प्रचण्डले अहिले सामाजिक न्याय, सुशासन र समृद्धिको एउटा नयाँ आधार र जनतामा नयाँ विश्वास जागेको पनि बताए ।