FLASH NEWS

‘प्रचण्ड’ले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरे : राप्रपा अध्यक्ष लिङ्देन


नेपाल आवाज २७ जेष्ठ २०८०, शनिबार १९:३८ मा प्रकाशित ११५३ पाठक संख्या

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।


पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नदीनाला विदेशीलाई दिँदा उपलब्धी ठान्न थालिएको टिप्पणी गरे ।

‘आज हेर्नुस् त, देशको जिम्मा लिएको राजनीतिक दलहरु र व्यक्तिहरुका क्रियाकलाप कस्ता प्रकारका छन् ? देशका नदीनालाहरु विदेशीलाई जिम्मा लगाउन पाउँदाखेरि उपलब्धि ठान्न थालेका छन्’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भएको थियो ।

अध्यक्ष लिङ्देनले भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्सा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री प्रचण्डले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।

‘आफ्नो भ्रमणको मुखैमा, आफ्नो देशको भूभाग समेत अंकीत गरेर छिमेकीले आफ्नो नक्शामा प्रकाशित गर्दाखेरी यो किन भयो भनेर प्रश्न गर्न नसक्नेहरुको हातमा आज देशको नेतृत्व छ’ उनले भने ।

अध्यक्ष लिङदेनले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे । उनले भूतपूर्व सैनिकहरुका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नभएको पनि बताए । तपाईहरुले बन्दुक बोकेर सुरक्षा गरेको देश संकटमा परेकाले जोगाउनका लागि साथ चाहिएको अध्यक्ष लिङदेनको भनाई थियो ।

‘यो लडाईँ देश जोगाउने लडाईँ, धर्म जोगाउने लडाईँ, यो लडाईमा उभिनुपर्ने भयो । यसमा एकचोटी तपाईहरुको साथ चाहियो । सहयोग चाहियो भनेर म अपिल गर्न चाहन्छु,’ उनले भने,  ‘तपाईहरुले हिजो बन्दुक बोकेर सुरक्षा गरेको देश, धर्म संकटमा गयो ।’

उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी समेत गरे ।

तपाईहरुले दुःख गरेर, सुरक्षा गरेर जोगाएको देश भोलि तपाईको भावी सन्ततिले देख्न नपाउने खतराहरु बढेर गएको छ’ अध्यक्ष लिङ्देनले भने, ‘कसैले पनि नेपालमा राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ । यो संघीयता खारेज हुनुपर्छ भन्ने चाहना राख्नु हुन्छ भने त्यो मानिसका लागि अर्को कुनै पार्टी छैन । अर्को कुनै विकल्प छैन ।’