FLASH NEWS

संसद भवन अगाडिबाट शान्ति समाजका कृष्ण पहाडीसहित १६ जना अधिकारकर्मी पक्राउ


नेपाल आवाज ३२ जेष्ठ २०८०, बिहीबार १४:५९ मा प्रकाशित १५०७ पाठक संख्या

काठमाडौं – प्रहरीले संसद भवन अगाडिबाट १६ जना अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ। भ्रष्ट नेतालाई कारबाही गर्नुपर्ने,नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै संसद भवनकाे तीन नम्बर गेटअगाडि  प्रदर्शनमा उत्रिएका शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई नियन्त्रणमा लिएको हो।


मानव अधिकार तथा शान्ति समाजको आह्वानमा बिहीबार संसद भवन अगाडि प्रदर्शन गर्ने अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाही गरोस, सार्वभौम संसद भ्रष्टाचारीको संरक्षण गर्ने थलो नबनोस, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शिर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर भन्ने आह्वानसहित प्रदर्शन गरेको थियो ।

त्यस्तै चुरे ध्वस्त पार्ने सरकारी नीतिको शान्ति समाजले विरोध गरेको छ भने मानव अधिकार मैत्री ऐन बनाई संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगोमा पुर्‍याउन आग्रह पनि गरेको छ । प्रदर्शनमा चुरे ध्वस्त पार्न पाइदैन  मधेशमारा नीति चाहिदैन, शीर्ष नेताहरुको सम्पत्ति छानविन खोइ?, भ्रष्टाचारी नेताको स्वर ठूलो किन?,सार्वभाैम संसद पञ्चायतजस्ताे नबनाेस्’ लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी,नागरिक अगुवा डा. केदारनरसिह के.सी, उत्तम पुडासैनी, चन्द्रमणी बञ्जारा लगाएत १६ अधिकारकर्मीलाई नियन्त्रणमा लिएको हो ।