FLASH NEWS

बेटिङ प्रकरणमा पक्राउ परेका कलाकार र युट्युबरलाई ४ दिन हिरासतमा राख्न अनुमति


नेपाल आवाज ३२ जेष्ठ २०८०, बिहीबार १७:५४ मा प्रकाशित १८६१ पाठक संख्या

काठमाडौं – प्रहरीले प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा पक्राउ गरेको ८ जनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ।


पक्राउ परेका चर्चित कलाकार र युट्युबरहरुलाई जिल्ला अदालतबाट चार दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति पाएको हो।

प्रहरीले वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार ८ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा कलाकारहरु पोखरा घर भई नयाँबजार बस्ने राजु पौडेल (राजु मास्टर),गोरखा घर भई बनस्थली बस्ने मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे),  प्युठान घर भई कलंकी बस्ने भटभटे माइला (बेगम नेपाली), धनकुटा घर भई भक्तपुर बस्ने पवन खतिवडा (म्याकुरी) र मोरङ घर भई भक्तपुर ठिमी बस्ने सरोज घिमिरेलाई पक्राउ गरेको हो ।  यस्तै उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिस राई, रोल्पा घर भई कीर्तिपुर बस्ने जलन घर्ती मगर र मुगु घर भई टिकाथली बस्ने गणेश देवकोटालाई पनि राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसीले जानकारी दिए ।

पक्राउ पछि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कारबाही प्रकिया अघि बढाउन पठाएपछि अदालतमा उपिस्थित गराइएको हो ।

नेपालमा कुनै पनि एपको प्रयोग गरेर सट्टेबाजी खेलाउने प्रकियालाई गैरकानुनी मानिएको छ। पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ। युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिएको प्रहरीको भनाइ छ।

प्रहरीले बुधबार पनि वानएक्स बेटमार्फत् एक अर्बभन्दा बढीको सट्टेबाजी गराउने पाँच एजेन्टलाई सार्वजनिक गरेको थियो । पक्राउ परेका कलाकारहरुले वानएक्स बेट मार्फत मोटो रकम लिने गरेको खुलेको प्रहरी स्रोतले बताएको छ। प्रहरीका अनुसार कम्तिमा १० लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्म उनीहरुले प्रचारप्रसार बापतको रकम माग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।