FLASH NEWS

राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव छैनः गृहमन्त्री श्रेष्ठ


नेपाल आवाज १ असार २०८०, शुक्रबार १५:४१ मा प्रकाशित १४०५ पाठक संख्या

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरु नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए।


उनले देशको विकास हुन नसक्दा आम जनता निरास रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरुले आफ्नो कार्यभार निभाउनुपर्ने बताए।

गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउन जरुरी रहेको उल्लेख गरे। राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरु रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक रहेको बताए।

उनले भने, ‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन। जनतामा सन्तुष्टि देखिएको छैन, अहिलेको हाम्रो मुख्य कार्यभार देशको विकास गर्नु हो। तर, हामीले भनेजस्तो रुपमा कार्यभार निभाउन सकेका छैनौँ। त्यो कहाँ कमजोरी भएको छ, त्यसलाई गम्भीरताकासाथ लिएर हामी अघि बढ्नुपर्छ। त्यसैले सबैभन्दा पहिला त राजनीतिक पार्टी र नेताहरुले नै आफूलाई सच्याउनु पर्छ।’