FLASH NEWS

हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त, लिए शपथ


नेपाल आवाज १ असार २०८०, शुक्रबार १८:०८ मा प्रकाशित १४११ पाठक संख्या

काठमाडौं – प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । उनले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।


संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।

आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

प्रधानन्यायाधीशमा नियुक्त हरिकृष्ण कार्कीको जन्म माम्खा–१, ओखलढुङ्गामा भएको हो । २०१५ साल साउन २० गते जन्मिएका कार्कीले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

२०४० सालबाट कानुन व्यवसायमा जोडिएका कार्कीले लामो समय वकालत पेसा र विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको कानुनी सल्लाहकारका रुपमा काम गरेका छन् । सन् १९८७ देखि १९८८ सम्म सर्वोच्च अदालत बार एसोसिएसनका निर्वाचित सचिव बनेका कार्की सन् १९९२ देखि १९९५ सम्म सर्वोच्च अदालत बार एसोसिएसनको सदस्य बने ।

त्यसैगरी सन् १९९५ देखि १९९८ सम्म नेपाल बार एसोसिएसनको सचिव बनेर उनले आफ्नो जिम्मेवारी पूरा गरेका थिए ।

सचिवपछि नेपाल बार एसोसिएसनको अध्यक्षमा उम्मेदवार बनेका कार्की एकपटक पराजित बनेका थिए । सन् २०१५ मा भएको निर्वाचनमा भने उनी नेपाल बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए ।

नेपाल बार एसोसिएसनकै अध्यक्ष रहेको समयमा उनी पदेन सदस्यका रुपमा नेपाल बार काउन्सिलको उपाध्यक्ष, नोटरी पब्लिकको सदस्य, राष्ट्रिय न्यायिक प्रतिष्ठानको सदस्य तथा नेपाल बार काउन्सिलको अध्यक्ष बनेका थिए ।

कार्की सन् २०१५ को अक्टोबरदेखि २०१६ को मार्च १ सम्म महान्यायाधिवक्ताको हैसियतमा न्याय सेवा आयोगको सदस्यसमेत रहेका थिए । अधिवक्ताको रुपमा ३० वर्ष काम गरिसकेपछि २०७० सालमा कार्की वरिष्ठ अधिवक्ता बनेका थिए ।