FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण: खाँण,रायमाझी र पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश


नेपाल आवाज १ असार २०८०, शुक्रबार १८:४४ मा प्रकाशित १५७३ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ।


शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई,भुटानी शरणार्थी नेता टेकनाथ रिजाल,हज कमिटीका अध्यक्ष शमशेर मियाँ,पूर्वसभासद् आङटावा शेर्पा,तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्दीप रायमाझी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जनसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनीहरु सबैलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाउन अदालतले आदेश दिएको छ ।

टंक गुरुङ र लक्ष्मी महर्जन दुईजना भने धरौटीमा रिहा भएका छन्। टंक गुरुङलाई १० लाख रुपैयाँ र महर्जनलाई ५ लाख धरौटीमा रिहा गरिएको हो।

पक्राउ परेका १८ जना प्रतिवादी पक्षका कानुन व्यवसायीले गरेको बहस बिहीबार सकिएका कारण शुक्रबार (आज) सो प्रकरणमा सरकारी वकिलले जवाफी बहस गरेका थिए।

आदेश आउने भएसँगै जवाफी वहस सकिएपछि नै जिल्ला अदालत काठमाडौँ वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपसहित १८ जना पक्राउ परेका थिए।

संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाडौँमा गत जेठ १० गते ३० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो।

यसमध्ये १८ जना पक्राउ परे पनि केशव तुलाधर, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाञी, निरज राई, रजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतिक थापा अझै फरार रहेका छन्। उनीहरू भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुनेछ।