FLASH NEWS

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो, अझै २८ जना बेपत्ता


नेपाल आवाज ४ असार २०८०, सोमबार ११:३२ मा प्रकाशित २१३१ पाठक संख्या

काठमाडौं – कोशी प्रदेशमा शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । अझै २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ ।


कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार खोलाले बगाएर भोजपुर र सङ्खुवासभामा १/१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुष पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यस्तै हालसम्म पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर बेपत्ता हुनेको सङ्ख्या २१ जना रहेको छ । जसमा सङ्खुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयका अनुसार जम्मा १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको सो मन्त्रालयले जनाएको छ ।

यस्तै ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरू पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ । आंशिक रूपमा २२ घरमा क्षति पुगेको छ । यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशुपंक्षीको मृत्यु भएको छ । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ ।

ज्यान गुमाएकाको परिवारलाई १ लाख राहत

कोशी प्रदेश सरकारले  बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल १ एक लाख रुपैयाँ राहत सहयाेग उपलब्ध गराउने भएको छ ।

कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई १ लाखकाे दरले सहयाेग उपलब्ध गराउने निर्णय  गरेको हो ।

आइतबार कोशी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाइ राहतस्वरुप रु एक लाख प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बोको सचिवालले जनाएको छ ।

घाइतेको उपचार गर्ने, भौतिक संरचना (घर) पुनःनिर्माणको लागि सहयोग गर्ने, बगाएका, भत्किएका पुल यथाशीघ्र मर्मत र निर्माण गरी अवरुद्ध बाटो तथा राजमार्ग तत्काल खुलाउन पहल गर्ने निर्णय गरेको मन्त्री मेन्याङ्बो बताए।

बेपत्ताको खोजी र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोमा परि बेपत्ताको खोजी र राहतका लागि सम्पुर्ण संयन्त्र परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाढीपहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बेपत्ता भएका नागरिकहरूको खोजी, उद्दार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका हुन् ।

सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताए ।

भेटमा प्रधानमन्त्रीले क्षतिको सम्पूर्ण बिबरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्दार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्रीले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए।