FLASH NEWS

देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम राजाबाट भएको होइन


नेपाल आवाज ५ असार २०८०, मंगलवार ११:५३ मा प्रकाशित १२८५ पाठक संख्या
  • कमल थापा

    राजनीतिक दल वा नेताहरूले आपसमा एकता गर्ने, सहकार्य गर्ने वा मोर्चा बनाउने कार्य स्वाभाविक अभ्यास हो। तर सोमबार घोषणा गरिएको ‘समाजवादी मोर्चा’का अधिकांश नेताहरू र खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोर्चाको गठन प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध युद्धको घोषणा भएको उल्लेख गर्नुभयो।


    प्रतिगामी शक्ति भनेर उहाँले राजसंस्था र हिन्दुराष्ट्र पक्षधर एवं संघीयता विरोधी शक्तिहरूलाई इंगित गर्नुभएको बुझ्न गाह्रो छैन। प्रधानमन्त्री प्रचण्डलाई मेरो प्रश्न- कतिञ्जेल प्रतिगमनको खतरा देखाएर देश र जनताको शोषण गर्नुहुन्छ? देशलाई वर्तमान संकटको दलदलमा फसाउने काम १७ वर्ष अघि पाखा लगाइएका राजा वा राजसंस्थाबाट हाेइन।

    अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट कायम छ, नेताहरूमा विदेशीको सामु घुँडा टेक्ने आत्मसमर्पणवादी मानसिकता हावी भएको छ। विदेशीहरूको चलखेल र हस्तक्षेप बढेको छ। सनातन धर्म संस्कृतिमाथि निरन्तर आक्रमण जारी छ, अर्थतन्त्र संकटग्रस्त छ, देशभित्र रोजगारी नपाएर लाखौँ युवाहरू विदेश पलायन हुन बाध्य भएका छन्।

    यो अवस्थाको सिर्जना कसले गरेको हो? राजा वा हिन्दुवादीहरूले हो? वास्तवमा २०६३ सालको राजनीतिक परिवर्तनपछि आमुल परिवर्तनको नाममा अबलम्बन गरिएको अवधारणा र राष्ट्रनिर्माणको मार्गचित्र नै गलत थियो।

    देशले भोग्नु परेको रोग,भोक, अशिक्षा,गरिबी र पछ्यौटेपनको ‌मूलकारण राजसंस्था, हिन्दुराष्ट्र र एकात्मक राज्य प्रणाली दोषी हुन् भन्ने भाष्य नै गलत थियो। यस्ता त्रुटि र कमजोरीहरू सच्याएर देश र जनताको हितमा काम गर्नुको सट्टा अमुर्त र भ्रामक त्राश सिर्जना गर्नु हाल विद्यमान कुशासन, भ्रष्टाचार र अराजकतालाई निरन्तरता दिने चाहना र बहाना मात्र हो।

    यस अवस्थामा राष्ट्रियता र प्रजातन्त्रको संरक्षण, सनातन धर्म संस्कृतिको रक्षा एवं सुशासनको माध्यमबाट नेपाली जनताको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरूका बीचमा सहकार्य र एकता आजको आवश्यकता हो।