FLASH NEWS

सुदूरपश्चिमका कानुनमन्त्री सवार गाडी दुर्घटना, ५ जना घाइते


नेपाल आवाज ५ असार २०८०, मंगलवार १५:४१ मा प्रकाशित १३५१ पाठक संख्या

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्बी बहादुर सिंह सवार गाडी दुर्घटना हुँदा मन्त्रीसहित ५ जना घाइते भएका छन्।


प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।

गाडीमा सवार मन्त्री सिंहलगायतका पाँच जना दुर्घटनामा परी घाइते भएका छन्। खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकीको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको बागथला प्रहरी पोष्टले जनाएको छ।

घाइतेहरुमा मन्त्री सिंहसहित उनकी श्रीमतीअमृतादेवी सिंह, जानकीदेवी सिंह, दीपक भण्डारी र चालक धर्मराज जोशी छन्। घाइतेहरुमध्ये मन्त्री सिंहलाई बढी चोट लागेकाले बेहोस भएको बताइएको छ।

मन्त्री सिंह गृह जिल्ला बझाङ भ्रमणका लागि हिँडेका थिए। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरी उद्धार र थप उपचारका  लागि बाहिर लग्न हेलिकोप्टरको तयारी गरिएको छ।