FLASH NEWS

पोखरा विमानस्थलमा अवतरित भयो सिचुआन एयरको विमान


नेपाल आवाज ६ असार २०८०, बुधबार ११:४७ मा प्रकाशित १२७९ पाठक संख्या

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडानका रुपमा सिचुआन एयरको विमान अवतरण गरेको छ ।


चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेको विमान आज बिहान ९:०५ मा पोखरा विमानस्थलमा अवतरण गरेको हो ।

एयरबस कम्पनीको ए३१९ मोडलको उक्त विमानमा १ सय ३० यात्रु रहेको जनाइएको छ । १ जनवरी २०२३ बाट सञ्चालनमा आएको पोखरा विमानस्थलमा यस अघिनै हिमालय एयरलाइन्सको त्यो भन्दा ठूलो एयरबस ए ३२० मोडलको विमानले सफल परीक्षण उडान गरिसकेको थियो ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो ।

यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार सहितको नेपाली प्रतिनिधिमण्डल समेत छ ।

उनीहरुलाई पर्यटनमन्त्री सुदन किराती लगायतले स्वागत गरेका छन् ।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।