FLASH NEWS

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्छः अध्यक्ष तिमिल्सिना


नेपाल आवाज ६ असार २०८०, बुधबार १२:२४ मा प्रकाशित १३५७ पाठक संख्या

पोखरा- राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताएका छन्।


बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले उडान नियमित रुपमा गर्नसकेमात्रै पर्यटन प्रवद्धन हुने बताए। उनले आजको खुसीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गरे। उनले भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनउनेतर्फ सोच्नुपर्ने बताए।

आकाश खुला भए आवातजावतमा पनि सहज हुने उनको भनाइ छ। उनले कुनैपनि देशका हवाई कम्पनीहरु फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए।

नेपाल र चीनबीचको सम्बन्ध सगरमाथाभन्दा अग्लो छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताएका छन्।

दुई देशबीचको सम्बन्ध हाम्रो भाषा र संस्कृतिको सम्बन्ध पनि त्यति नै नजिक रहेको बताए । मन्त्री किराँतीले चिनियाँ नागरिक नेपाल आउँदा नेपाललाई भान्जाभान्जी आएको जस्तो लाग्ने गरेको उल्लेख गर्दै यो सम्बन्धलाई अझै बिस्तार र सुदृढ बनाउनुपर्ने समेत बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले विश्वको सर्वोच्च शिखर सगरमाथा विश्वकै सबैभन्दा अग्लो सीमाना भएको पनि बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्नु पहिलो कदम भएपनि अब यसलाई निरन्तरता दिन आवश्यक रहेको उनले उल्लेख गरे।

यो पनि पढनुहोस् : पोखरा विमानस्थलमा अवतरित भयो सिचुआन एयरको विमान