FLASH NEWS

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश


नेपाल आवाज ७ असार २०८०, बिहीबार १६:४१ मा प्रकाशित १८५५ पाठक संख्या

काठमाडौं –  सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।


चलाउनेले मुद्दा फिर्ता लिने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।

सर्वोच्च अदालतले मुद्दा फिर्ता लिनुको कारण पेश गर्न पनि सरकारलाई आदेश दिएको छ ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले २०७७ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमै चलाउनेमाथि निर्घात कुटपिट गरेका थिए।

कुटपिटबाट उनको खुट्टा भाँचिएको थियो भने टाउको र छातीमा चोट लागेर लामो समय उपचारपछि सामान्य हिँडडुल गर्न सक्ने भएका छन्।

घटनामा संलग्न नेविसंघका कार्यकर्ताविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा लगाइए पछि अघिल्लो सरकारकै पालामा मुद्दा फिर्ताको प्रक्रिया अघि बढाएर अहिले निर्णय लिइएको हो।

आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिविका उपप्राध्यापक चलाउने बुधबार सर्वोच्च अदालत गएका थिए ।

मुद्दा फिर्ता लिने लिने सरकारको निर्णय युक्तिसंगत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनले सरकारको निर्णय तत्काल रोक्नुपर्ने माग गरेका थिए ।