FLASH NEWS

पोखरामा भोलिदेखि सञ्चालन हुने नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को सम्पूर्ण तयारी पूरा


नेपाल आवाज ७ असार २०८०, बिहीबार २२:०४ मा प्रकाशित २३३५ पाठक संख्या

कास्की – पोखरामा भोलिदेखि सञ्चालन हुने नेपाल–चीन फ्रेन्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को सम्पूर्ण तयारी पूरा भएको छ ।नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।


नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा बोट रेस र ताल किनारको क्याम्पिङ चोकमा फेस्टिभल आयोजना हुँदैछ ।

यस प्रकारको फेस्टिभल चीन बाहिर दक्षिण एसियामै पहिलोपटक हुन लागेको र कार्यक्रमबाट पर्यटकीय सहर पोखरामा र समग्र देशमा चिनियाँ पर्यटक आगमन वृद्धि हुने विश्वास आयोजकको छ ।

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिने गरी बनाइएका डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् । निर्धारित दूरी सबैभन्दा छिटो पार गर्ने टोली विजेता बन्नेछ ।

बोट रेस र फेस्टिभलमा सहभागिताका लागि चिनियाँ टोली पोखरा आइसकेको छ । चिनियाँ टोली बुधबार चार्टर्ड उडानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । बोट रेसमा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताअन्तर्गत शुक्रबार र शनिबार फेवातालमा दुई सय र पाँच सय मिटरमा दुई विधामा आठवटा बोट रेस प्रतियोगिता हुने पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले जानकारी दिए ।

प्रतिष्पर्धामा नेपालबाट नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एसोसिएसन (एनआरसीए), चाइना नेपाल फ्रेन्डसीप, फेवा ढुङ्गा व्यवसायी सङ्गठन र पोखरा महानगरपालिकाको टिम रहेको छ ।

पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् ।

‘नेपाल–चीन ड्रागन बोटरेस फेस्टिबल’मा सहभागी हुन आएका चिनियाँ कलाकारले पोखराको सभागृहमा बिहीबार दिउँसो लोक संस्कृति पस्किएका छन्। चीनको लिन्जी शहरको संगीत र नृत्यमा पोखरेली झुमेका थिए। नेपाली मौलिक लोक संस्कृतिमा चिनियाँ नागरिक पनि रमाएका थिए ।

साँस्कृतिक पहिरनमा चिटिक्क परेका चिनियाँ कलाकारले लिन्जीमा बसन्त ऋतुमा प्रस्तुत हुने कोङ्बु, तिब्बतीयन ओपेरा, विवाङ, टासी ढेलेक जस्ता लोकसंस्कृतिको स्वाद चखाएका थिए।

नेपाली कलाकारले चिनियाँ पाहुनालाई नेपालको संस्कृति झल्कने कौराहा, चुड्का, धिमे र मारुनी नाँच प्रस्तुत गरेका थिए। चिनियाँ पाहुना पनि उसै गरी नेपाली लोकसंगीतमा डुबेका थिए ।

यसैबीच, फेस्टिभलमा सहभागी हुन आएका चिनियाँ खेलाडीहरू र राजदूत चेन सोङ्को सम्मानमा रात्रि भोज आयोजना गरिएको छ ।

पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेका चीनको लिन्जी र सिचुवान नगरका प्रमुख र उपप्रमुख लगायत चिनियाँ पाहुनाहरूको टोली पोखरामा रहेको छ ।

यस क्रममा लिन्जीका प्रमुख बाटा, सिचुवानकी उपप्रमुख लु सुपिङ र युनान नर्मल युनिभर्सिटीका उपकुलपति न्यु झिलिङ लगायतको टोलीसँग महानगरपालिका प्रमुख धनराज आचार्य,उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतले अनुभव आदान प्रदान तथा छलफल गरेका थिए ।

यसैगरी रात्रीभोज कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतको सहभागिता रहेको थियो ।