FLASH NEWS

सरकार सत्ता टिकाउने काममा लागि परेको छः रवि लामिछाने


नेपाल आवाज ८ असार २०८०, शुक्रबार १६:२६ मा प्रकाशित २१४९ पाठक संख्या

काठमाडौं  – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउने काममा लागि परेको टिप्पणी गर्नु भएको छ ।


सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको बुझाई थियो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, राष्ट्रपति कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहाल जनतालाई राहत दिने, मुलुकको महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित हुने भन्दा पनि सत्ता टिकाउने काममा अल्मलिएको आरोप लगाए ।

राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेपनि सरकारले बेवास्ता गरेको उनले आरोप लगाए ।

उनले भने, ‘सरकार जनतालाई राहत दिने, मुलुकका महत्वपूर्ण मुद्दाहरुमा केन्द्रित रहनेभन्दा पनि सरकारले आफूलाई टिकाउनुपर्ने जिम्मेवारी बढी भएका कारणले सरकार कता–कता अलमलिएको हो कि ? भन्ने कुरा म सम्माननीय सभामुख महोदयमार्फत् सदनलाई जानकारी गराउन चाहन्छु।’

नक्कली भुटानी शरणार्थी प्रकरणकै विषयलाई लिएर मैले यही सदनमा हाम्रो दलको तर्फबाट विशेष समितिको माग गरेको थिए । कारण के थियो भने–जुन ढंगले यसको इन्भेष्टिगेशन भईरहेको थियो । त्यहाँ इन्भेष्टिगेशन गर्ने इन्टिच्यूटहरुको बारेमा प्रश्नहरु आए । अनेक कुराहरु आए । तर, त्यस विषयमा छानविन अगाडि बढन सकेन । र, अहिले जुन ढंगले छानविन सकिएको त छैन । तर, जुन परिणामहरु आईरहेको छ । त्यसले हाम्रा प्रश्नहरुको उत्तर नै दिन सकेन । त्यसैले यो अगाडि बढने वातावरण देखिएन । सरकार अल्मलियो । सरकार गठबन्धन भित्र पनि अर्को गठबन्धन बनाउन लाग्यो ।

सरकारमै सहभागी भएका दलहरुले अर्को गठबन्धन बनाएको हामीले थाहा पायौं । यो चाँही मोर्चा बनाएको थाहा पायौं । मोर्चामा सरकारमै सहभागी दलहरु छन । अव यो के हो ? बुझ्न जरुरी भयो । त्यही गठबन्धन भित्र भएको ठूलो दलको नेता देशमै नभएको बेलामा सरकार भित्रै सहभागी दलहरु मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरु ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिए । सरकार अल्मलिएको त भारत भ्रमणका पनि केही विषय थियो । हामीले केही प्रश्नहरु राखेका थियौं । ती पनि अनुत्ततरित भए । प्रधानमन्त्री धेरै कुरामा अल्झिनु भयो । गठबन्धन भित्र मिलाउने कुरामा, गठबन्धन भित्रै अझ केही तलमाथि पर्न लागेको हो कि भन्ने कुरामा प्रधानमन्त्रीको ध्यान गएको हो कि ? भारत भ्रमणलाई पनि एकदमै उपलब्धिमूलक भनियो । ’

सभापति लामिछानेले राष्ट्रको महत्वपूर्ण मुद्दाहरुलाई छाडेर सरकार किन अल्मलिएको छ ? भनि प्रश्न समेत गरे।