FLASH NEWS

साफ च्याम्पियनसिप फुटबल : नेपाल समूह चरणबाट बाहिरियो


नेपाल आवाज ९ असार २०८०, शनिबार २२:०५ मा प्रकाशित २१९१ पाठक संख्या

काठमाडौं – साविक उपविजेता नेपाल भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।


बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा शनिबार साविक विजेता भारतसँग २-० ले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।

भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्री र महेश सिंह नोरिमले एक एक गोल गरे ।

खेलको पहिलो हाफ गोलरहित बराबरी खेल्दा नेपालले केही राम्रा अवसर गुमाएको थियो। भारतविरुद्ध उत्कृष्ट खेलेको नेपालले दोस्रो हाफमा भने दुई गोल खाएको थियो । दोस्रो हाफमा भने भारतीय टिम आक्रमक रुपमा प्रस्तुत भयो।

खेलको ६१ औं मिनेटमा डिबक्समा प्राप्त पासमा सुनीलले उत्कृष्ट फिनिसिङ गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा काउन्टर आक्रमणमा सुनील क्षेत्रीले डिबक्सबाट हानेको प्रहारलाई नेपालका कप्तान तथा गोलकिपर किरण लिम्बूले पञ्च गरे। क्लियर हुन नसकेको सो बलमा भारतका महेश सिंहले गोल गर्न सफल भए। महेशले गोल गर्दै भारतलाई २-० को जित दिलाए ।

यस जितसँगै समूह ‘ए’ बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । भारतले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जित निकालेको भारत दोस्रो स्थानमा रहेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४-० ले हराएको थियो ।

नेपाल भने एक खेल अगाबै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको थियो ।

भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४-० ले हराएको थियो । कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ । सो खेल अब प्रतिष्ठाको लडाइँ मात्र हुने भएको छ। सोहि दिन भारत र कुवेतबीच हुने खेलले समूह विजेताको टुंगो लाग्नेछ।

नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । पाकिस्तान पनि अंक विहीन रहदै पुछारमा रहेको छ । पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ ।