FLASH NEWS

आज देशभरकै मौसम बदलीः चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना


नेपाल आवाज १० असार २०८०, आईतवार ११:२१ मा प्रकाशित १५३१ पाठक संख्या

काठमाडौं – हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ । बिहान लुम्बिनी, कर्णाली गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  पनि सम्भावना रहेको छ।

आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा आसपास भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ।

आज महाकाली नदी र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने र सतर्कता तह पुग्न सक्ने आकलन पनि महाशाखाको छ। देशका अन्य प्रमुख तथा मझौला नदीहरूमा भने जलसतह सामान्य रहने महाशाखाले जानकारी दिएको छ।

त्यस्तै रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक र आसपास भइ बहने केही ससाना  नदीहरूमा आकस्मिक बहाबको जोखिम छ।

रामेछाप, धादिङ, नुवाकोट, मकवानपुर, दैलेख, जाजरकोट र आसपास भइ बहने केही ससाना नदीहरूमा बहाब बढ्न सक्ने महाशाखाले जानकारी दिएको छ।

ससाना नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण बाढी आउनाका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुने  हुँदा  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरिएको छ।