FLASH NEWS

सुनको जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ मन्दिर जाँदै, खाली गराइयो मन्दिर


नेपाल आवाज १० असार २०८०, आईतवार १५:३९ मा प्रकाशित २०४७ पाठक संख्या

काठमाडाैं – पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह साढे ३ बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ ।


जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ । सुनको जलहरी राख्दा निर्धारित तौल भन्दा कम तौलको राखेर भ्रष्टाचार गरेको आरोप छ । संसदमा समेत यसबारे प्रश्न उठेको थियो ।

आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा जान लागेको हो । आयोगको टोलीले जलहरी नापजाँच गर्ने छ ।

आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जानकारी ति अधिकृतले दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरी जाँच्न आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपति प्रवेश गर्ने गेटदेखि मुख्य प्रवेशद्वार नै बन्द गरिएको छ।

पशुपति मन्दिर क्षेत्रमा नेपाली सेना पनि खटिएको छ ।

यो पनि पढ्नुहोस : ‘पशुपतिको जलहरीमा सुन गायब गरेको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार छु’ : सदस्यसचिव थापा