FLASH NEWS

‘पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन,हेर्नुहोला’ : प्रधानमन्त्री ‘प्रचण्ड’


नेपाल आवाज ११ असार २०८०, सोमबार १४:५५ मा प्रकाशित १३९९ पाठक संख्या

धादिङ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्।


धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पस भवनको समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, “अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ, तपाईंहरूले हेर्नुभएको होला, सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा गठबन्धनसँग लगातार भएको बैठकहरू र प्रतिपक्षसँग पनि भएको बैठकको आधारमा पनि म के भन्न सक्छु भने पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन, हेर्नुहोला,यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ। ”

१८ औं सताब्दीमा कार्ल माक्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ ? नसोचि तिमी आफु आफ्नो उदेश्यमा अगाडि बढ् ! भनेको स्मरण गर्दै दुनियाँले के भन्छ ? त्यतातिर भन्दा पनि राम्रो गर्दै जाने तिर आफ्नो ध्यान रहेको बताए ।

‘आफ्नो ठाउँबाट राम्रो गर्दै जाने, जनताले एक दिन त फैसला गर्ने नै छन् । राम्रो काम गर्नेको जनमत बन्ने नै छ भनेर म अगाडि बढेको छु’, उनले भने ।

जनतालाई सेवा सुविधा दिने, भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणलाई गति दिने र अर्थतन्त्रमा देखिएको दबाब कम गर्ने कुरामा आफ्नो ध्यान रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण ऐतिहासिक नै भएको दाबी गरे । ‘१० वर्षमा १० हजार मेगावाट विजुली किन्ने सहमति, भारत बंगलादेश र नेपालबीच विद्युत व्यापार गर्ने सहमति, सीमा समस्या समाधान गर्ने नरेन्द्र मोदीजीको कमिटमेन्ट र अन्य थुप्रै विकास परियोजनाहरु महत्वपूर्ण भएका छन्, मलाई गर्व छ’, उनले भने ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफुले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको  प्रधानमन्त्रीको भनाई थियो ।

आफुले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने उनले विश्वास समेत व्यक्त गरेका छन् ।