FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एकजना पक्राउ


नेपाल आवाज ११ असार २०८०, सोमबार १७:५२ मा प्रकाशित २१६७ पाठक संख्या

काठमाडाैं- नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।


उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो । उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्कीले बताए।

‘उनको खातामा ट्रान्ज्याक्सन भएको देखिएको छ। त्यसैले उनलाई पक्राउ गरिएको हो’, उनले भने।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो । त्यसमध्ये १८ जना पक्राउ परेका थिए ।

पक्राउ परेकामध्ये लक्ष्मी महर्जन र टंक गुरुङ क्रमश: ५ लाख र १० लाख धरौटीमा छाड्दै बाँकीलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

फरार १२ मध्येका बुढाथोकी पनि हुन् । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा निरजसहित ११ जना अझै फरार छन् ।

२०७९ चैत १२ मा ३ अभियुक्तलाई पक्राउ गरी ठगीमा अनुसन्धान गरिएकामा अनुसन्धानको दायरा बढाएर संगठित अपराधमा मुद्दा चलाइएको थियो । त्यसक्रममा किर्ते र राज्यविरुद्धको अपराधसमेत जोडेर ४ वटा कसुरमा दायर मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।