FLASH NEWS

ललिता निवास जग्गा प्रकरण: ६ जना पक्राउ


नेपाल आवाज १२ असार २०८०, मंगलवार १४:३३ मा प्रकाशित ३३१९ पाठक संख्या

काठमाडौं – बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो।

यस प्रकरणमा सिआइबीले अनुसन्धान गरिरहेकै थियो। थप प्रमाण संकलन गरी उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई आजै सरकारी कागजात कीर्तेमा म्याद थप गर्ने तयारी छ । डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले पुनः सुरु गरेको हो ।

स्रोतका अनुसार, त्यो घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी भइरहेको छ ।