FLASH NEWS

साफ च्याम्पियनसिप फुटबल : नेपालले पाकिस्तानलाई हरायो


नेपाल आवाज १२ असार २०८०, मंगलवार १९:५६ मा प्रकाशित १४८९ पाठक संख्या

काठमाडौं – भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले अन्तिम खेलमा जित निकालेको छ । बैंगलोरस्थित श्री कान्तीरवा स्टेडियममा भर्खरै सम्पन्न खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले पारजित गरेको हो ।


नेपाललाई जित दिलाउन एकमात्र निर्णायक गोल आशिष चौधरीले गरे । उनले ७९ औं मिनेटमा गोल गरेका हुन् । लाकेन लिम्बुले वान टचमा उपलब्ध गराएको बललाई आशिषले डी–बक्सबाहिरबाट वान टचमै गोल गरे । आशिषको नेपालका लागि यो पहिलो गोल हो ।

६१ औं मिनेटमा मनिष डाँगीले गोल गर्ने सुनौलो अवसर गुमाए । नवयुग श्रेष्ठले दिएको पासलाई उनले अघि बढाउँदै गोल गर्न लाग्दा उनको प्रहारलाई पाकिस्तानका गोलरक्षक युसुफ बटले विफल पारे । उनले एक दिशा च्यापेर प्रहार गरेको खण्डमा गोल हुन सक्ने सम्भावना थियो ।

६७ औं मिनेटमा नेपाल अभागि सावित भयो । देवेन्द्र तामाङले फ्रिकिकबाट प्रहार गरेको बल पाकिस्तानको गोलपोस्टको बारमा लाग्न पुगेको थियो ।

७२ औं मिनेटमा नेपालले पुनः फ्रिकिकबाट नै गोल गर्न खोज्दा पोस्टबार नै तघारो बन्यो । नेपालका एरिक बिस्टले लङ रेन्जबाट प्रहार गरेको बल दाहिने पोस्टबारमा ठोक्किएर बाहिरिन पुग्यो ।

जितसँगै नेपालले अन्तिम खेलमा ३ अंक जोडेको हो । यद्यपि, नेपाल र पाकिस्तान दुबै टोली नकआउट चरणबाट बाहिरिसकेका छन् ।

पहिलो खेलमा नेपाल कुवेतसँग र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । पाकिस्तान भने पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग पराजित भएको थियो । नेपालसँग पराजित भएसँगै पाकिस्तान जारी साफ च्याम्पियनसिपमा जितविहिन रह्यो ।

यस समूहबाट कुवेत र भारत सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । कुवेत ६ अंक जोडेर शीर्ष र ६ अंक जोडेको भारत दोस्रो स्थानमा रहेको छ ।

कुवेत र भारत आज राति भिड्ने छन् । दुई टोलीबीचको खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ ।

देशको लागि गोल गर्ने सपना पूरा भयो : आशिष

खेलमा विजयी गोल गरेपछि २२ वर्षीय आशिषले नेपालका लागि गोल गर्ने सपना पूरा भएको बताए । ‘नेपालको लागि गोल गर्ने सपना थियो । त्यो सपना पूरा भएको छ’, आशिषले भने, ‘यतिबेला म मेरो परिवारलाई मलाई सहयोग गर्ने दाइहरूलाई सम्झन चाहन्छु ।’

मोरङको हरैँचाका आशिषले गत वर्ष काठमाडौंमा भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि डेब्यु गरेका थिए ।

पहिलो पटक साफ च्याम्पियनसिप खेलेका उनले पाकिस्तान विरुद्ध आफ्नो डेब्यु गोल गरेका हुन् । नेपाललाई जिताएपछि स्वभाविक रुपमा उनी खुशी थिए । आफ्नो परिवारको सहयोग र आफूले गरेको मिहिनेत पूरा भएकोमा आशिष दंग पनि थिए ।

नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि आशिषको प्रशंसा गर्दै उनी राम्रो सम्भावना भएको खेलाडी भएको बताए ।

‘आशिष युवा छन् । उनको भविषय धेरे राम्रो छ । अझै उनले साफका केही संस्करणहरु खेल्न सक्छन् । आशिष र सबै टिमको लागि खुशी छु ।’