FLASH NEWS

प्रधानमन्त्रीलाई बाबुरामको कटाक्ष- बुढीगण्डकीको महत्व नबुझ्नेले विकासको गफ दिनु हास्यास्पद


नेपाल आवाज १३ असार २०८०, बुधबार ११:४६ मा प्रकाशित १२३१ पाठक संख्या

काठमाडौं –  तीन दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी नै स्थापना भइसकेकाले असारभित्रै उद्घाटन गर्ने तयारी गरेको बताएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यसबारे कडा प्रतिक्रिया दिएका छन्।


सामाजिक सञ्जाल फेसबुकमार्फत् भट्टराईले बुढीगण्डकी परियोजनालाई हलो काटेर मुंग्रो बनाउन खोजेको टिप्पणी गरेका छन् ।

‘बुढीगण्डकी परियोजनालाई हलो काटेर मुंग्रो बनाउनु भनेझैँ यसको बहुआयामिक विकास अवधारणाको हत्या गरेर सामान्य जलविद्युत योजनाको रूपमा खुम्च्याउनु र यसलाई विद्यमान विद्युत प्राधिकरण मातहतको एउटा कम्पनी अन्तर्गत राख्नु ज्यादै आपत्तिजनक छ। यो त एउटा बाघलाई सुगाको पिंजडामा राख्न खोज्नु जस्तै हास्यास्पद कुरा हो’, उनले भने ।

भट्टराईले राजनीतिक नेतृत्वले देशको दीर्घकालीन विकास नीति नै नबुझ्नु वा बुझ्न नचाहनु चिन्ताको विषय भएको बताए।

‘भौगोलिक विविधता,जटील भूराजनीति र नदीनाला नै सबभन्दा ठूलो सम्पत्ति भएको मुलुकमा नदी-उपत्यकाहरूको एकीकृत विकास गरेर मात्र समग्र देशको सन्तुलित,दिगो र हरित विकास गर्न सकिन्छ भन्ने सत्ताधारीहरूले किन नबुझेको?अमेरिकाको टेनेस्सी भ्याली,चीनको थ्री-गोर्जेज परियोजनाहरूले ती देशको अग्रगामी रूपान्तरणमा खेलेको ऐतिहासिक भूमिकाबाट किन सिक्न नचाहेको?’, उनले भने ।

उनले आफू प्रधानमन्त्री हुँदा गठन भएको बुढीगण्डकी विकास समितिले अघि सारेको र आफूले भन्दै आएको अवधारणा अन्तर्गत गुरुयोजना किन नबनाएको भन्दै प्रश्न समेत गरेका छन्।

‘आफुले नबुझे/नजाने पनि मेरो प्रमकालमा गठन भएको ‘बुढीगण्डकी विकास समिति’ले अघि सारेको र मैले बारम्बार कराउॅदै आएको ‘बुढीगण्डकी कोरिडोर विकास प्राधिकरण’को अवधारणा र त्यसअन्तर्गत प्रस्तावित एकीकृत विकासको गुरूयोजनालाई किन लत्याएको ? कमसेकम आगामी ५० बर्षसम्म देशको विकासको प्रमुख इञ्जिन हुने काठमाण्डौ-पोखरा-लुम्बिनी-हेटौंडा र वीरगंज चौकोणको बीचमा पानी, विजुली, माछापालन, पर्यटन, पर्यावरण संरक्षणको प्रमुख श्रोत हुने यो जलाशययुक्त परियोजनाको बहुआयामिक महत्व नबुझ्नेले विकास र समृद्धिको गफ दिनु कति हास्यास्पद होला ? बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड भनेको यही हो कि ?’, उनले भने ।

उनले सही मोडालिटी बनाएर छिटो कार्यान्वयन गर्ने अझै समय भएको समेत बताए । नत्र इतिहासले धिक्कार्ने भन्दै उनले आयोजनाको संस्थागत संरचना समेत उल्लेख गरेका छन्।

केही दिन अघि धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पस भवनको समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले असारभित्रै बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास गर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिएका थिए ।