FLASH NEWS

आजदेखि यी अस्पतालमा गरिब बिरामीलाई २ हजार २८ शय्या निःशुल्क


नेपाल आवाज १४ असार २०८०, बिहीबार १५:१७ मा प्रकाशित १७६५ पाठक संख्या

काठमाडौं – आजदेखि देखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  २ हजार २८ शय्या निःशुल्क गरिएका छन् ।


बिहिवारदेखि उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध भएका हुन् ।  स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतका अनुसार ‘कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र सहिद गंगालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्,’ ।

उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको संख्या दुई हजार २८ पुगेको छ। ‘वीर अस्पतालले सात सय शय्या र कोसी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्,’ मन्त्री बस्नेतले भने।

उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिए। शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्न केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको बताइएकाे छ।